काठमाडौं । भुक्तानीका विभिन्न माध्यमध्ये क्यूआर कोड डिजिटल स्क्यानबाट गरिने भुक्तानी एक हो । भुक्तानीमा मात्र यसको प्रयोग हुँदैन, विभिन्न कुराको जानकारी पाउनसमेत क्यूआर कोड स्क्यान गर्न सकिन्छ । तपाईंलाई थाहा छ, क्यूआर कोडको छेउमा किन तीनवटा वर्गाकार समावेश हुन्छ ? हो यही विषयमा तपाईंको जिज्ञाषा मेटाउने प्रयास गरेका छौं ।
सुरुवाती चरण
सन् १९९४ मा जापानको डेन्सो वेभ कम्पनीले क्यूआर कोडको विकास गरेको हो । क्यूआर कोड अर्थात क्विक रेस्पोन्स कोड आजभोलि यसको सबैजसो ठाउँमा प्रयोग भइरहेको छ । गाडी निर्माण गर्दा त्यसका पाटपुर्जाहरू सही तरिकाले ट्र्याक गर्न एउटा सिस्टम आवश्यक परेको थियो ।
त्यही सिस्टमको खोजीमा लागिपरेको जापानी टिमले एक किसिमको कोड तयार पार्यो, जसले कान्जी, काना र अल्फआन्यूमेरिक वर्णहरू इन्कोड गर्न सक्थ्यो । हाल प्रयोगमा आएको क्यूआर कोडले वेबसाइट यूआरएल, फोन नम्बर, वाई–फाई पासवर्ड वा चार हजार वर्णजस्ता तमाम कुरा यसमा समावेश गर्न सकिन्छ ।
विशेषता
क्यूआर कोडलाई डिकोड गर्न सकिदैन । हामीले त्यसलाई ध्यान दिएर हेरेका हुन सक्छौँ । क्यूआर कोड एक वर्गाकारमा हुन्छ । त्यस वर्गाकारको तीनवटा छेउमा एउटा–एउटा कोठा हुन्छन् । यी कोठा पनि वर्गाकारमा नै हुन्छन् । ती कोठाको अर्थ के हुन्छ ? वा ती कोठा त्यसमा किन समावेश गरिएको हुन्छ ?
क्यूआर कोडको विकास हुनुपूर्व टुडी बार कोड प्रयोगमा आइरहेको थियो । ती बार कोडको बीचमा एउटा मात्र स्क्वायर समावेश हुन्थ्यो, जसले बारकोडको सही दिशानिर्देश गर्थ्यो ।
तर, ती टुडी बारकोडले गर्दा डिभाइसले छिटो डिकोड गर्न नसक्ने वा बार कोड खराब भएको अवस्थामा डिभाइसले एरर देखाउने जस्ता समस्या देखिन थाले । त्यसको विकल्पमा विकास भएको क्यूआर कोड अहिले सम्म निकै सुरक्षित र भरपर्दो मानिन्छ ।
वास्तवमा ती तीन वर्गाकारले सो क्यूआर कोडको सही स्थानबारे स्क्यानिङलाई जानकारी दिन्छन् । जसले गर्दा स्क्यानरले केही सेकेन्डमा नै क्यूआर कोड डिकोड गर्छ । त्यही वर्गाकारभित्र एउटा सानो वर्गाकार पनि हुन्छ ।
त्यसले गर्दा स्याक्यानरले क्यूआर कोडको सिधा वा बाङ्गो भएको पत्ता लगाउँछ । कोडमा समावेश अन्य सङ्केतले भने सबै सूचना इनकोड गरेर राख्छ र हामीले सहजै स्क्यान गरेर देख्न सक्छौं ।
