भर्खरै : Sorry, your browser does not support inline SVG.

थानीमाई मन्दिरमा भक्तजनको आकर्षण

थानीमाई मन्दिरमा भक्तजनको आकर्षण

तनहुँ । जिल्लाको भानु नगरपालिका–७ वसन्तपुरस्थित धार्मिकस्थल थानीमाई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ ।उक्त मन्दिरमा तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र फूलको डोली भित्र्याउन भीड नै लाग्ने गरेको छ । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो “साउना महिनाबाहेक प्रत्येक महिनाको मङ्गलबार विशेष पूजाआजा हुने यस मन्दिरमा पछिल्लो समय भक्तजनको भीड लाग्ने गरेको छ । ”गत मङ्सिर महिनाको अन्तिम मङ्गलबार ४५ फूलको डोली भित्र्याइएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले बाजागाजासहित फूलको डोली भित्र्याएका हुन् ।
अध्यक्ष थापामगरका अनुसार विशेष गरी सोमबार सत्यनारायण पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिक महिनादेखि माघ महिनासम्म भक्तजनको भीड नै लाग्ने गर्दछ । उक्त मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेक अन्य समयमा पूजाअर्चना निरन्तर हुने गर्छ ।

पछिल्ला समय थानीमाई मन्दिर जाने नयाँ सडक खुलिसकेका छन् । सडक खुलेसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको छ । भक्तजन फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा तीन पटक नाचगान गर्दै परिक्रम गर्छन् । परिक्रमपश्चात् माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएका तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गर्ने गरिन्छ । झण्डै चार सय ५० वर्ष अघि भानु नगरपालिका–७ स्थित कोटथोकमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि हाल मन्दिर रहेको स्थानमा ओत लाग्दा अन्र्तध्यान भएको जानकार बताउँछन् ।

स्थानीय मानसिं पाटा मगरको सपनामा उक्त स्थानमा मन्दिर बनाएर पूजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना गरेपछि समस्या समाधान भएको किंवदन्ती रहेको पाइन्छ । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस मन्दिरबाट छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका विभिन्न जिल्लाका मनोरम र हिमशृङ्खला दृश्य अवलोकनसमेत गर्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको यस मन्दिरको पुनःनिर्माण गरिएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयबाट रु चौध लाख र मन्दिरको भेटीबाट रु छ लाख गरी रु बीस लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो । विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चन सुरुआत भएको बताइएको छ । उक्त मन्दिर जिल्लाको डुम्रे बजार स्थित पृथ्वीराजमार्गबाट करिब १८ किलोमिटर दूरीमा पर्दछ ।

 


Thali Mobile Pvt.Ltd.