काठमाडौं । दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ भने अर्घाखाँचीमा सर्पले डसेर ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका –२ को राप्ती नदीमा ४५ वर्षीय एक महिलाको शव फेला परेको हो । बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयवासीले शव किनारमा तैरिरहेका अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारूले बताए । यता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका का प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो ।
