भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

बलेवा । बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो । गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन् ।

सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ । वडाध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुवेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो । डा डिलबहादुर थोकर लामाले बोधिसत्वा विहारसँगको सहकार्यमा स्वास्थ्य एकाइलाई अक्सिजन मेशिन उपलब्ध गराउनुभएको हो ।

कोरोना महामारीलाई दृष्टिगत गर्दै अक्सिजन मेशिन, पल्स अक्सिमिटर, स्यानिटाइजर, पिपिई सेट तथा अत्यावश्यक औषधि र उपकरण स्वास्थ्य एकाइलाई प्राप्त भएको छ । करीब रु चार लाख बराबरको स्वास्थ्य सामग्री र उपकरण प्राप्त भई हस्तान्तरण गरिएको खत्रीले जानकारी दिनुभयो । करार सेवाका दुई स्वास्थ्यकर्मी र सीमित औषधि मात्र भएको स्वास्थ्य एकाइ थप सबल बनेकामा खत्रीले खुशी व्यक्त गर्नुभयोे ।

सीमित स्रोत साधनमा असुरक्षित भएरै भए पनि जनताको सेवा गरिरहेको जनाउँदै हेल्थ असिसटेन्ट जगन्नाथ सुवेदीले अक्सिजन मेशिनलगायत स्वास्थ सामग्री र औषधि प्राप्त भएसँगै सेवामा खट्न थप उत्साह मिलेको बताउनुभयो । उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउने बोधिसत्वा विहार र चिकित्सक थोकर लामाले आगामी दिनमा एम्बुलेन्स तथा भिडियो एक्स–रे मेशिनसमेत उपलब्ध गराउने वचन दिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

श्वासप्रश्वासका बिरामी धेरै भएको र कहिलेकाहीँ जटिल समस्या भएर निजी अस्पतालमा महँगो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुवेदीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.