चितवन । बर्ड फ्लु कुखुराको कडाखाले संक्रामक रोग मानिन्छ । संक्रमित पन्छीको सम्पर्कमा आउनाले यसको संक्रमण मानिसमा फैलन्छ । यो अत्यन्तै संक्रामक भाइरस रोग हो । जसका कारण कुखुरा पालन व्यवसायले ठूलो क्षति बेहोर्नुपरेको छ । बर्ड फ्लु भाइरसजनित पंन्छीहरूको रोग हो जुन मुख्यतः जङ्गली पंन्छीमा स्वाभाविकरूपमा पाइन्छ । पछिल्लो समय चितवनका विभिन्न ठाउँमा बर्ड फ्लु देखिएको जनाइएको छ ।
पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्ड फ्लु देखिएपछि नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको छ । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो । ती जिल्लामा ८८ हजार आठ सय पक्षी मारिएको, ५१ हजार सात सय ६३ अण्डा नष्ट गरिएको, ३० क्विन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको छ ।
मानिसमा खासगरी बच्चा र बूढा रोगी पन्छीको बिष्टा, प्वाँख, ¥याल, सिँगानको सम्पर्कमा आए यिनमा रोग फैलन सक्छ । मानिसमा बर्ड फ्लुको लक्षण साधारण फ्लुसँग मिल्दोजुल्दो हुन्छ । सास फेर्न गाह्रो हुने, तीव्र ज्वरो, रुघाखोकी, नाक बग्ने आदि । सामान्यतः बर्ड फ्लु भाइरस ७० डिग्री सेल्सियसमा नष्ट हुन्छ । कुनै ठाउँमा बर्ड फ्लु भएको भन्ने पुष्टि भएमा अण्डा र कुखुराको मासु ७० डि.से माथि पकाएर खाँदा कुनै जोखिम नहुने जानकारहरुले बताएका छन् ।
