काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो । भोलिपल्ट अर्थात आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो ।
नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् ।शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार ६ सय २ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
मतगणना ढिलो भन्दै निर्वाचन आयोगको आलोचना भइरहेको छ । ४०८ वटा गाउँपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएकोमा ३ सय ९ जना अध्यक्ष पुरुष निर्वाचित भएका छन् । ११ जनामात्रै महिला छन् । ४०७ वटा गाउँपालिका उपाध्यक्षको मतगणना सकिएकोमा १२० जना पुरुष र २८७ जना महिला निर्वाचित भएका छन् ।
१८१ नगरपालिकाको नतिजा सार्वजनिक भएकोमा ६ जनामात्रै मेयर निर्वाचित भएका छन् । बाँकी १७५ जना पुरुष छन् । नगरपालिकाको मेयरमा महिला प्रतिनिधित्व ३ दशमलव ३१ प्रतिशत छ ।
