भर्खरै : Sorry, your browser does not support inline SVG.

पुजारी मठ पुनःनिर्माण कार्यमा जनताको अपनत्व

पुजारी मठ पुनःनिर्माण कार्यमा जनताको अपनत्व

भक्तपुर । दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबीच छलफल सम्पन्न भएको छ । कार्यक्रम बिहीबार धातुकला संग्रहालय परिसरमा
भएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुजारी मठ पुनःनिर्माण कार्य पारदर्शी ढंगबाट सम्पन्न गर्ने र पुनःनिर्माण कार्यको दौरानमा मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरुको अभिलेखीकरणका साथै महत्वपूर्ण सम्पदाहरु सुरक्षित प्रदर्शनीको व्यवस्था गर्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विश्व सम्पदा क्षेत्रमा अवस्थित प्रसिद्ध मयुर झ्याल भएको पुजारी मठ पुनःनिर्माण सबैको साझा चासो र सरोकारको विषय भएको बताए । मठ पुनःनिर्माण कार्य त्रुटीरहित र पारदर्शी ढंगले सम्पन्न गर्न सबै सरोकारवाला निकायहरु क्रियाशील हुनुपर्ने बताउँदै उहाँले सम्पदा पुनःनिर्माण जस्तो संवेदनशील काममा ठेकेदारहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए ।

सम्पदा पुनःनिर्माण आफैमा एउटा चुनौतीपूर्ण विषय भएको बताउँदै उहाँले पुजारी मठ पुनःनिर्माण कार्यमा स्थानीय जनताको अपनत्व रहने गरी मौलिक शैलीमा पुनःनिर्माण कार्य अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

यसअघि मिति २०८० मंसिर १८ गते पुजारी मठ पुनःनिर्माण कार्य व्यवस्थित रुपमा सञ्चालन गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सदस्यहरु सहजीकरण समिति गठन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.