भादगाँउ । बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ । बागमती प्रदेश सशर्त अनुदान कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा बाटो ढलान गर्ने काम सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदीपजामन श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी मध्यपुरथिमि–२ को टिआइटीआइबाट वडा कार्यालय जाने १० मिटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याएको छ । करिब ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब रु सात लाख सङ्कलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताए । उहाँले सो बाटोमा नगरस्तरीय बजेटमार्फत आगामी वर्ष कालोपत्र गर्ने लक्ष्य राखिएको बताए । प्रदेशको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नै मध्यपुरथिमि–१ लोकन्थलीका विभिन्न भित्री बाटोमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ ।
लोकन्थलीको गणेशमार्गका भित्री तीन फिटदेखि आठ फिट चौडाका बाटोमा करिब रु २५ लाखको लागतमा ढुङ्गा छाप्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरि प्रजापतिले जानकारी दिए । गत वर्ष सो क्षेत्रका बाटोमा ढुङ्गा छाप्ने काम भएको थियो । ढुङ्गा छपाइकार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीयवासी रोशनभक्त श्रेष्ठले बताए ।
प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुरथिमि नगर क्षेत्रभित्र एक दर्जन बढी ठाउँमा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अतिविपन्न आवास निर्माणदेखि नारायणविलाश जोशी स्मृति भवनको निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य डा . श्रेष्ठले बताए । प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रमअन्तर्गत मध्यपुरथिमिमा निर्माण भइरहेका अतिविपन्न आवास कार्यक्रमअन्तर्गत चारवटा एततले घरको समेत निर्माण सम्पन्न भएको डा श्रेष्ठले बताए ।

