३ भदौ २०७७ सुर्खेत । एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । ५३ वर्षीय सासदले जनस्वास्थ्य कार्यालय सुर्खेतमै स्वाब दिएका थिए ।
थपिएका संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडानम्बर १,२,३,४ र ५ का १० महिने बालक, ५ जना महिला र ११ जना पुरुष रहेका छन् । त्यस्तै सुर्खेतको चौकुने गाउँपालिका वडा नं.३, ४ र ५ का ५ जना महिला र वीरेन्द्रनगर नगरपालिका वडा नं ११ की एक महिला र ४ जना पुरुष रहेका छन् ।
जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ७ का एक महिला र ६ जना पुरुष, सिँजा गाउँपालिका ५ का एक पुरुष र चन्दननाथ नगरपालिका १ का ६० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । दैलेखको दुल्लु नगरपालिका ६,का एकजना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडानम्बर ३ र ७ का दुई वर्षीय बालक र २२/ २२ वर्षका युवकयुवती रहेका छन् ।
त्यस्तै डोल्पाको जगदुल्ला गाउँपालिका ५ का एकजना पुरुष, कास्कीको मादी गाउँपालिका ३ का एकजना पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ३ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३० पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना संक्रमितको मृत्यु भएको छ भने १९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
