भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । बिहान करीब ४ः३० बजेको समयमा शुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगमा आगलागी भएको खबर पाउनसाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करीब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताउनुभयो । जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरुमा क्षति हुन पाएन । उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा चैत महिनामा मात्रै दुई दर्जन बढी घर तथा गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि घर तथा गोठमा भएको आगलागीमा अहिलेसम्म मानवीय क्षति नभए पनि पशुचौपाया भने ठूलो मात्रामा जलेर मरेका छन् । घर तथा गोठमा भएको आगलागीमा नगद, सुनचाँदी, पशुचौपाया, अन्नपात, लत्ताकपडा, काठपातलगायत जल्दा करोडौँको क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।

जिल्लामा भएका आगलागीका घटनाको यकिन विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । जिल्लाका कतिपय सामुदायिक वनमा अझै आगलागी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । कतिपय ठाउँका स्थानीय बासिन्दाले आफ्नो नजिक पर्ने वनमा आफैँ आगो लगाउने गरेको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.