भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

बागलुङमा अस्पताल भवन निर्माणले गति लियो

बागलुङमा अस्पताल भवन निर्माणले गति लियो

बागलुङ ।  बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण शुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो । पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्कविहीन हुँदै आएको अस्पतालमा अहिले भने निरन्तर काम हुन थालेको छ । विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको थिएन ।

निर्माण शुरु भएको सात वर्ष बितेपछि बल्ल अस्पताल निर्माणले अन्तिम रूप लिन थालेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात बर्ष बित्दासमेत अझै सम्पन्न नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । “अस्पताल व्यवस्थापन समितिको निरन्तरको दबाबपछि अहिले ठेकेदार कम्पनी आएर काम गरिरहेको छ”, रानाले भन्नुभयो, “ठेकेदारका पनि आफ्नै समस्या होलान् तर तीन वर्षमा सक्ने भवन आठ वर्षमा बल्ल सकिएला जस्तो छ ।”

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो । आगामी चैत मसान्तभित्र सबै काम सकेर हस्तान्तरण गर्ने ठेकेदारले प्रतिबद्धता गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने १० वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीको उदासीनताका कारण अस्पताल भवनमा ढिलाइ भएको हो । हाल ५० शय्या क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० शय्या क्षमताको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि अस्पतलामा अझै भौतिक संरचना र जग्गाको अभाव रहँदै आएको छ । चारतला रहेको अस्पतालको अहिले उक्त भवनमा बाहिरी भाग प्लास्टर, खानेपानी, ढल तथा विद्युत्को काम भइरहेको छ । पछिल्लो चार महिनादेखि अस्पतालमा धमाधम काम भइरहँदा अस्पताल निर्माण चैतसम्म सकिने देखिएको छ । तीन वर्षमा निर्माण सक्ने गरी आशिष÷ मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको अस्पतालले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.