भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर रु पाँचरपाँच लाख गरी कुल रु दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चाररचार वटा पहिरो पीडितको घर निर्माण गरी हस्तान्तरण गरिएको घर पुनःनिर्माण समितिका सदस्य दल शेरपुर्जाले जानकारी दिए ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसँगको समन्वयमा बाढी र पहिरोपीडित लाभग्राहीको छनोट गरिएको हो । गत माघ महिनामा रघुगङ्गा गापा–५, झिँबाट शुरु भएको पुनर्वास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ । आइतबार रघुगङ्गा गापाभित्र निर्मित चार घर मोनाका अध्यक्ष जुग्जालीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नं ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा र वडा नं ८ का अध्यक्ष गमान छन्त्यालको उपस्थितिमा लाभग्राहीलाई हस्तान्तरण गर्नुभएको थियो ।

मोनाका अध्यक्ष जुग्जालीले प्राकृतिक विपत्तिको समयमा पीडितहरुलाई राहत र सरकारलाई समेत सहज होस् भन्ने उद्देश्यले प्रवासी म्याग्देलीहरुले पुनःनिर्माण अभियानमा सहकार्य गरेको बताउनुभयो । उहाँले जिल्लामा प्रवासीहरुले सामाजिक क्षेत्रमा सहकार्य गर्दै आएकोमा अब छिटै नै स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गर्ने गरी लगानीसमेत बढाउने तयारी गरिएको जानकारी दिनुभयो ।

घर हस्तान्तरण कार्यक्रममा रघुगङ्गाका अध्यक्ष भण्डारीले सरकारी तवरबाट शुरु भएको पुनःनिर्माण अभियान अगावै प्रवासी म्याग्देलीहरुको अगुवाइमा शुरु भएको पुनःनिर्माणले सार्थकता पाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । रघुगङ्गामा गत वर्षको बाढी, पहिरोबाट पूर्ण क्षति भएका १७ लाभग्राही रहेकामा जिल्ला विपद् व्यवस्थापन समितिले १३ जना मात्रै छनोट गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले छनोट गरेकामध्ये मोनाले चार परिवारको आवास निर्माण गरिदिएको हो । छुटेका चारसहित पहिचान भएका नयाँ पीडितहरुको विवरण कायम गर्न जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गरिएको गाउँपालिकाले जनाएको छ । रघुगङ्गामा निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि अनुसार नौ जना लाभग्राहीसँग सम्झौता गरी पहिलो किस्ता रु ५० हजारका दरले निकासा गरी काम अघि बढेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.