भक्तपुर । नगरपालिका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ (डंगोल) को नेतृत्वमा आएको टोलीबीच शुक्रबार भेटघाट सम्पन्न भएको छ । दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका दक्षिणकाली नपाका उपप्रमुख तामाङ नेतृत्वको टोलीबीच शुक्रबार भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भएको हो ।
भेटकाक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका नयाँ संग्रहालय निर्माणको क्रममा रहेको र भक्तपुर नपालाई देशकै नमुना नगरपालिका बनाउने उद्देश्य रहेको बताए । नगरपालिकाभित्र अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरू परम्परागत शैलीमै जीर्णोद्धार र पुनःनिर्माणमा जोड दिंदै आइरहेको भन्दै उनँले सम्पदा संरक्षण कार्यमा भक्तपुरका जनताको साथ र सहयोग निरन्तर पाइरहेको बताए ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले बहुसंख्यक जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरिरहेको जानकारी दिए । भेटमा दक्षिणकाली नपाका उपप्रमुख शान्ति तामाङले भक्तपुरको कला संग्रहालय व्यवस्थापन, संस्कृति, सम्पदा संरक्षण, विकास निर्माणलगायतका कार्यहरूबाट आफूहरूले पनि सिक्न चाहेको बताइन् ।
करिब एक वर्ष अगाडि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको निरीक्षणको क्रममा भक्तपुरको अध्ययन अवलोकन गरेको स्मरण गदै सो क्रममा भक्तपुरबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको धारण राखिन् । उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले दक्षिणकाली नपाका प्रतिनिधिमण्डल टोलीलाई नगरपालिकाको सम्पूर्ण शाखा तथा उपशाखा, भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय, तलेजु परिसर, वत्सला मन्दिर, पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतको स्थलगत अवलोकन गराएको थियो ।
