भक्तपुर । भक्तपुर नगरपालिकाले २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पूर्ण अपाङ्गता भएका ७ जनालाई ट्वाइलेट र ह्विल चेयर तथा १६ जनालाई ह्विल चेयर वितरण गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको परिवारलाई सम्मान र सहयोग गर्नु सबैको कर्तव्य हो भन्दै मेयर सुनिल प्रजापतिले उनीहरुको सीप प्रस्फुटन गराउन लुकेको सीपलाई उजागर गरी फरक क्षमता भएको व्यक्तिको रुपमा हेर्नुपर्ने बताए । प्रविधिको युगमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधिमैत्री सामग्रीहरु प्रयोग गरी समाजमा आफुमा भएको कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुपर्ने बताए ।
कोभिड–१९ का कारण यस वर्ष नगरपालिकाले सार्वजनिक जमघटका विभिन्न भेला, सहकारी संस्थाको साधारण सभा लगायतका कार्यहरुमा भीडभाड नगर्न अनुरोध गर्दै आइरहेको बताए । प्रमुख प्रजापतिले जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले उनीहरुको सुरक्षामा अझ बढी सावधानी अपनाउनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष एवं समन्वय समितिका सदस्य श्यामकृष्ण खत्री, समितिकै संयोजक डा. रत्नसुन्दर लासिवा, समन्वय समितिका सदस्य रोशनमैंया सुवाल लगायतले धारणा राखेका थिए । अपाङ्गता भएका व्यक्तिहको माग बमोजिमको कोभिड–१९ महामारीको कारण वितरण गर्न बाँकी अन्य सहायक सामग्रीहरु सम्बन्धित वडा कार्यालय मार्फत अपाङ्गता भएका व्यक्तिहरुको घरघरमा पु¥याइने नगरपालिकाले जनाएको छ ।

