भक्तपुर । नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा आएको संसदीय समितिले भक्तपुर साना औद्योगिक क्षेत्रको प्रदूषणबारे स्थलगत निरीक्षण गरेको छ ।
सांसदहरुको टोलीले उद्योगहरुको स्थलगत निरीक्षण पश्चात नगरपालिकासंग छलफल गरेको छ । टोलीलाई नगर प्रमुख प्रजापतिले भादगाउँले टोपी र खादा ओडाएर स्वागत गरे । भक्तपुरको हस्तकलामा आधारित परम्परागत सीपलाई व्यावसायिक रुप दिन स्थापना भएको भक्तपुर साना उद्योग क्षेत्रमा हाल ध्वनी, धुँवा र रसायन प्रदूषण फाल्ने उद्योगहरु सञ्चालन गरिएको र त्यसबाट स्थानीय जनताको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको तथा उद्योग क्षेत्रभित्र जालसाजी भएको जनताको व्यापक जनगुनासो उठिरहेको बैठकमा सांसद प्रेम सुवालले बताए ।
भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्नेतर्फ आवश्यक पहल गर्न अनुरोध गर्दै सांसद सुवालले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश भएको उजुरीबारे आवश्यक सुनुवाई हुने विश्वास व्यक्त गरे । छलफल नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य र वर्तमान अवस्थाबारे अवगत गराउदै औद्योगिक क्षेत्र वरपर भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, शैक्षिक संस्थाहरु, अस्पताल तथा भक्तपुर दरबार क्षेत्र जोडिएको हुँदा सरकारको प्रतिबद्धताअनुरुप भक्तपुर औद्योगिक क्षेत्रबाट यथाशक्य चाँडो धुवा, ध्वनी र रसायन प्रदुषण फाल्ने उद्योगहरु स्थानान्तरण गर्नुपर्न माग गरे ।
कतिपय ठूला उद्योगहरुले नगरपालिकालाई तिर्नु पर्ने कर समेत नतिरी जथाभावी जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य गरिरहेको अवगत गराए । पटक पटक जनताको माग अनुसार प्रदुषण फाल्ने उद्योगहरु स्थानान्तरणको माग गर्दा पनि सरकारले ध्यान नदिएको भन्दै संसदीय समितिले जनताको मागलाई सम्वोधन गर्नेमा आशावादी रहेको वताए । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले स्थलगत अध्ययन समितिबाट प्राप्त प्रतिवेदनको आधारमा नेपाल सरकारलाई आवश्यक निर्देशन दिनुका साथै सम्बन्धित सबै निकायहरुमा घच्घच्याउने काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
औद्योगिक क्षेत्र व्यवस्थित सञ्चालन नभएको, सरसफाइ पनि नभएको भन्दै सांसद श्रीवास्तवले भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रशासन र स्थानीय पीडित जनताको संयुक्त प्रयासबाट औद्योगिक क्षेत्र स्थानान्तरणका लागि आवश्यक पहल गरिने बताए । सांसद भीमसेनदास प्रधानले मानव बस्तीलाई हानी हुने गरी प्रदूषण फाल्ने उद्योग सञ्चालन गर्न नपाउने उल्लेख गर्दै नेपाल सरकारको निर्णयअनुरुप उपत्यकाबाट प्रदूषण फाल्ने उद्योगहरु स्थानान्तरण गर्नुपर्ने बताए ।
सांसद एवम् अध्ययन समितिका संयोजक देवेन्द्र पौडेलले भक्तपुरको पहिचान र गौरव गर्न लायक संस्कृति बचाइराख्नुपर्ने बताउँदै भक्तपुरको कला, संस्कृति र सम्पदाहरु बचाइराख्न र स्थानीय पीडित जनताको गुनासो सम्बोधन गर्न समिति प्रतिबद्ध रहेको बताए । समितिका सांसद सुजाता परियारले भक्तपुर औद्योगिक क्षेत्रभित्रका उद्योगहरुको स्थलगत भ्रमण गरी वास्तविक समस्या बुझ्ने अवसर पाएको भन्दै पीडित जनताको गुनासो छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताइन् । सांसद प्रमोद शाहले मानव बस्तीबीच सञ्चालित उद्योगहरुले मानव स्वास्थ्यमा परिरहेको असर र समस्या निकै संवेदनशील भएको बताए ।
उद्योग राज्यमन्त्री, उद्योग व्यवस्थापन कार्यालयलगायतबाट निरीक्षण भइसक्दा पनि समस्याको सुनुवाई नहुनु दुखद भएको बताए । नगर प्रमुख प्रजापतिले समितिका सभापति श्रीवास्तव र कार्यदलका संयोजक पौडेललाई भक्तपुर साना उद्योग क्षेत्रको धुँवा, धुलो र ध्वनी प्रदूषण सृजना गर्ने उद्योगहरुबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लि.लगायत विभिन्न सरोकारवाला निकायहरुमा गरेका पत्रहरुको प्रतिलिपि बुझाए ।
स्थानीय पीडित जनता तथा भक्तपुर नगरपालिकाका कर्मचारीहरुको निवेदन, औद्योगिक क्षेत्रका उद्योगहरुले नगरपालिकालाई तिर्नुपर्ने कर बक्यौतासम्बन्धी विभिन्न मितिमा बसेका बैठक निर्णयका प्रतिलिपि तथा पत्रिपत्रिकामा प्रकाशित समाचारहरुको प्रतिलिपिसहित आवश्यक कारबाहीको लागि सभापतिसमक्ष अनुरोधसहितको ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।
साथै संयोजक पौडेललाई कर्मचारीहरुको तर्फबाट नेपाल कर्मचारी एशोसियसन भक्तपुर एकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवा र स्थानीय पीडित जनताको तर्फबाट विनोदचरण रायले पनि स्थानीय जनताको उजुरीसहित ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।
