रुपन्देही । सैनामैना नगरपालिका–१० की १४ वर्षीया सीता ज्ञवालीको झारफुकको नाममा हत्या भएको छ । कान दुख्ने र ज्वरो आउने समस्या देखिएपछि स्थानीय सालझण्डी माध्यमिक विद्यालयमा कक्षा ९ पढ्ने उनलाई फागुन ११ गते आमा लीला ज्ञवालीले सालझण्डीको बाबुराम मेडिकलमा लगिन् ।
कानमा किर्ना रहेको भन्दै डाक्टरले निकालेर फालिदिए । निको नभएपछि फेरि मेडिकल लगेर पिसाब, रगत पनि परीक्षण गरियो । औषधि दिएर डाक्टरले फिर्ता पठाए । एक सातासम्म पनि सीतालाई निको नभएपछि झारफुक गर्ने माताकहाँ लगिन् । २२ वर्षीया अविवाहित रेश्मी सालझण्डीकै पशुपति क्याम्पसमा स्नातक तह पढ्छिन् उनलाई भर्खरै माता चढेको स्थानीयको भनाइ छ ।
सीतालाई झारफुकमा लगेपछि माता रेश्मीले ‘बोक्सी छोडाउने’ भन्दै कुटपिट गर्न थालिन् । मुखमा खरानी र पानी राख्दै लुछ्ने र पिट्ने गरिन् । ज्वरोले शिथिल बनेकी सीता मुढो जस्तै उत्तानो परिन् । सीतालाई लात्तीले हान्ने, मुखमा खरानी र पानी खन्याइदिने क्रम निरन्तर चलेको प्रत्यक्षदर्शीले बताए ।
सामाजिक सञ्जालमा रहेको भिडियोमा माता भनिने रेश्मीले क्रुर तरिकाले कुटपिट गरेको पनि देखिन्छ । सीतालाई कुटपिट गरिरहँदा आमाले पटक–पटक रोक्न खोजिन् भनेर स्थानीयले भने । तर, बोक्सीलाई दुख्ने, छोरीलाई नदुख्ने भन्दै माताले कुट्न रोकिनन् । निरन्तरको कुटपिटपछि सीता बेहोस भइन् ।
माता भनिने रेश्मीले आफूले बोक्सी नचाउने भन्दै भिडियो खिच्न भनेकी थिइन् । त्यही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै यो घटना बाहिरिएको हो । २० गते राति भएको घटनापछि सीताको मृत्यु भयो । माताको कुटपिटले मृत्यु हुँदासमेत आफन्त, छिमेकीले प्रहरीमा खबर गरेनन् ।
बरु रातारात नै कपिलवस्तुको लक्ष्मण घाटमा पुगेर अन्त्यष्टि गरे । माताका घरपरिवारले घटनालाई गुपचुप राख्न खोजेका थिए । दुई दिनपछि मृतकका मामाले भिडियो सामाजिक सञ्जालमा पोस्ट गरे । भिडियो देखिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थाल्यो ।
प्रहरीले फागुन २२ मै माता भनिने रेश्मीलाई नियन्त्रणमा लियो । त्यसपछि झारफुकमा सहभागी र अन्तिम संस्कारमा पुगेका आफन्त, मलामीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। १० जनालाई पक्राउ गरी सामान्य सोधपुछ गरेर छाडेको छ भने बाकी अदालतबाट १० दिनको म्याद लिएर घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
