भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आउनुभएको हो । साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।

“स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेषगरी पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो”, उहाँले भन्नुभयो, “छलफलका क्रममा निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको छ ।” स्वीस राजदूत एलिजावेथलाई गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्कालगायतले स्वागत गर्नुभएको थियो । गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको भेटघाटका क्रममा राजदूत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रक्रियाका बारेमा समेत छलफल भएको गाउँपालिका प्रमुख भङ्कारले बताउनुभयो ।

मुन्धुम ट्रेलका लागि निर्माणाधीन पूर्वाधार विकासका गतिविधि अवलोकन गर्दै मङ्गलबार साकेला गाउँपालिका आइपुगेको राजदूत एलिजावेथको टोली तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवा भञ्ज्याङतर्फ गएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थल चखेवा भञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो । साकेला गाउँपालिकाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा मुन्धुम ट्रेलको काम भइरहेको जनाइएको छ ।

त्रिपक्षीय सम्झौताका आधारमा निर्माण शुरु गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा परेको छ । यस वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत पूर्वाधारको काम भइरहेको छ । खोटाङ र भोजपुरको पर्यटन विकासमा मुन्धुम ट्रेलले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रदेशसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभएको छ ।

पदमार्गको यात्रा गर्दा दूधकुण्ड नुम्बुर, मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली श्रृङ्खला अवलोकन गर्न सकिने जनाइएको छ । ठूल्ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौँरीखर्कहरु तथा भेडीगोठको बीचबाट डाँडाको शिरैशिर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता रहेको छ । गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जङ्गल अवलोकन गर्न पाइने मुन्धुम पदयात्रामा डेढ÷दुई घण्टाको दूरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत समुदायको भएको तथा किराँतीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा संस्कार÷संस्कृतिका बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो ।

पर्यटन प्रवद्र्धनका लागि मुन्धुम ट्रेलको प्रवेशद्वारमा पर्ने तावा भञ्ज्याङमा कृत्रिम ताल निर्माण गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिएको छ । प्राकृतिकरूपमै पर्यटकको रोजाइमा पर्ने तावा भञ्ज्याङमा प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताउनुभएको छ । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावा भञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइको कृत्रिम ताल निर्माण हुँदैछ ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृश्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँसपालन लगायतका क्रियाकलाप गर्न सहज हुने अपेक्षा गरिएको छ ।

भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावा भञ्ज्याङको माथिल्लो भेगमा शहीद पार्क निर्माण गर्ने योजनासमेत प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । शहीद पार्कका लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.