मोबाइल फोनको स्क्रिन तथा स्टिनलेस स्टिलमा २८ दिनसम्म रहन्छ कोरोना भाइरस

मोबाइल फोनको स्क्रिन तथा स्टिनलेस स्टिलमा २८ दिनसम्म रहन्छ कोरोना भाइरस

मेलबर्न, एजेन्सी ।  नोट, मोबाइल फोनको स्क्रिन तथा स्टिनलेस स्टिलमा २८ दिनसम्म संक्रामक अवस्थामा अर्थात् कोरोना भाइरस सक्रिय रहने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस यसअघि सोचेभन्दा धेरै लामो समयसम्म जीवित रहन सक्ने देखिएको जनाइएको छ। यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारो वातावरणमा गरिएको हो। यूभी लाइट अर्थात् बैजनी किरणले भाइरसलाई मार्ने तथ्य भने यसअघि नै पुष्टि भइसकेको छ।

तर, अझै पनि केही वैज्ञानिक स्टिल, स्क्रिन वा अन्य कुनै पनि माध्यममा रहेका भाइरसबाट अन्य स्वस्थ व्यक्तिमा संक्रमण फैलिने जोखिमको सत्यतालाई लिएर भने दुबिधामा परेका छन्। कोरोना भाइरस विशेषगरी संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा ओसिलो अर्थात् जलीय कणबाट सर्ने गर्दछ। यस्तै, हावामा रहेका यस्ता कणका माध्यमबाट पनि भाइरसको संक्रमण भएको प्रमाण फेला परिसकेको छ।
यसअघि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस नोट र सिसामा दुईदेखि तीन दिन तथा प्लास्टिक तथा स्टिनलेस स्टिलमा ६ दिनसम्म मात्र जीवित रहन सक्ने देखिएको थियो।
अस्ट्रेलियाली निकाय सिरोले गरेको यस अनुसन्धानको यो प्रतिवेदन भाइरोलोजी जर्नलमा प्रकाशित भएको हो। तर, कार्डिफ युनिभर्सिटीको रुघाखोकी केन्द्रका पूर्वनिर्देशक तथा प्राध्यापक रोन एकलेसले यस अनुसन्धानको आलोचना गर्दै भाइरस २८ दिनसम्म जीवितै रहने सक्ने तथ्यले जनमानसमा अनावश्यक सन्त्रास थपिएको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.