राष्ट्रियसभाको अधिवेशन असार १७ गते

राष्ट्रियसभाको अधिवेशन असार १७ गते

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा१० बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदैआएंको थियो । सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो ।

सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भए पनि हाल सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल हुनुहुन्छ ।

हाल राष्ट्रियसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषद्बाट सिफारिश भई राष्ट्रपतिबाट मनोनीत हुनुहुन्छ । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा वाग्मती, स्वतन्त्र र दृगनारायण पाण्डे लुम्बिनी, कांग्रेस अधिवेशनम नयाँ प्रवेशी हुनुहुनेछ ।

 


Thali Mobile Pvt.Ltd.