काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विस्तारको चीनले विरोध गरेको छ । हिउँदे ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुन चीन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङ बीच भएको भेटपछि निकालेको संयुक्त विज्ञप्तिमा नेटोको विस्तारको विरोध गरिएको हो ।
युक्रेनका सीमामा एक लाखभन्दा बढी रुसी सेना तैनाथ गरिएका छन् । अमेरिका तथा युरोपेली देशहरुले रुसले युक्रेनमा आक्रमण गर्ने दाबी गर्दै त्यसो नगर्न चेतावनी दिइरहेका बेला रुसको छिमेकी तथा सोभियत सङ्घबाट टुक्रिएको युक्रेनलाई नेटोको सदस्य बनाउने प्रक्रिया सुरु भएपछि रुसले नेटोको तीव्र विरोध गरिरहेको छ । भेटमा रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर बनाउन नेटो गठबन्धनलाई प्रयोग गरिरहेको दाबी गरेका थिए ।
