भर्खरै : Sorry, your browser does not support inline SVG.

विकट र दुर्गम क्षेत्रका गाउँपालिकामै पहिलोपटक डाक्टर पुगे

विकट र दुर्गम क्षेत्रका गाउँपालिकामै पहिलोपटक डाक्टर पुगे

म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी डा एकराज भण्डारीलाई नियुक्त गरिएको ताकमका वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो । “कोभिड अस्पताल सञ्चालन गर्नका लागि डाक्टरसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उहाँले भन्नुभयो, “छिट्टै कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।

अहिलेकै जनशक्तिलाई निरन्तरता दिएर नियमित अस्पताल सञ्चालन गर्ने योजना छ ।” नियमित बसेर सेवा दिने गरेर डाक्टर आएको पहिलोपटक भएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाले शुक्रबार बिहान स्वागत गरेका छन् । पहिलोपटक गाउँपालिकामा डाक्टर आएकोमा स्थानीयवासी खुशी भएका छन् । ताकम स्वास्थ्यचौकीको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँ गाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ ।

यही मङ्गलबार सम्पन्न विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल स्थापना गर्र्ने निर्णय गरेको थियो । “अहिले तीन महिनालाई डाक्टर र नर्स नियुक्त गरेका हौँ”, अध्यक्ष पुनले भन्नुभयो, “कोरोना अस्पताल स्थापना भएको ताकममै गाउँपालिकाले नियमित अस्पताल सञ्चालन गर्ने तयारी गरेका छौँ ।” अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु ७० लाख पठाएको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेर ठेक्का आह्वानको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

कोरोना अस्पताल सञ्चालन गर्न यसअघि अन्नपूर्ण र मालिका गाउँपालिकाले डाक्टर नियुक्त गरेका छन् । मङ्गला र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि डाक्टर पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाख बजेट पठाएको थियो । आवश्यक मेडिकल बेड, विस्तारा, अक्सिजनलगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । रु चार लाख ५० हजार तलब, रु ५० हजार औषधि र रु पाँच लाखको बेडसहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.