भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

महेन्द्रनगर । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् ।जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी माघ १० गतेसम्म २२ प्रतिमा बनाइसक्ने गरी आफूले मङ्सिर २० देखि नै काम सुरु गरेको बताउनुभयो । “गत वर्ष ३५ मूर्ति बनाएको थिएँ”, उहाँले भन्नुभयो, “माघ १० गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्नेछ ।” उनन्तीस वर्षदेखि मूर्ति बनाउँदै आउनुभएका पण्डितले यो वर्ष मूर्ति बेचेर करिब रु ५० हजार कमाउने लक्ष्य राख्नुभएको छ ।

जनकपुरधाम–१५ का ३६ वर्षीय पञ्चा पण्डितले पनि माघ १० नकट्दै १५ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताउनुभयो । त्यसैगरी जनकपुरधाम–१९ का २३ वर्षीय राजाराम मण्डललाई पनि यतिबेला मूर्ति बनाउने चटारो छ । उहाँले यो वर्षको सरस्वती पूजामा २० प्रतिमा बेचेर रु ५० हजारसम्म कमाउने लक्ष्य राख्नुभएको छ । चन्द्रदेव, पञ्चा र राजारामले जस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहनुभएको छ ।

सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको राजाराम मण्डलले बताउनुभयो । उहाँले छ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यस्तै काम गर्ने गरेको बताउनुभयो । “यसरी माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर केही पैसा कमाउँछौँ”, मण्डलले भन्नुभयो, “केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्नुपर्छ ।”

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका–१८ का ३५ वर्षीय विजय मण्डलले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताउनुभयो । उहाँले खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सघाउ पुगेको धारणा राख्नुभयो । “जागिर छैन, सधैँ काम हुँदैन”, मण्डलले भन्नुभयो, “आफूसँग भएको सीपको सदुपयोग गर्दै सरस्वती पूजा, दीपावली र अरु समयमा प्रयोग हुने प्रतिमा बनाएर केही भए पनि अर्थोपार्जन भइरहेको छ । यसले खर्च चलाउन राहत भएको छ ।”जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । तीनदेखि पाँच दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र रु पाँच सयदेखि रु १० हजारसम्ममा बिक्री हुने उनीहरु बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.