सेन क्याम्पसको चारकोठे भवन शिलान्यास

सेन क्याम्पसको चारकोठे भवन शिलान्यास

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँमा समुदायले सञ्चालन गरेको भीमसेन क्याम्पसमा पक्की भवन निर्माणको काम शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, अनुदान आयोगको ५० लाख र काठेखोला गाउँपालिकाको १५ लाख रुपैयाँ अनुदानमा चारकोठे पक्की भवन निर्माणको काम थालिएको हो ।भवन अभावमा भीमसेन माविको भवन प्रयोग गरेर क्याम्पसको पठनपाठन हुँदै आएको थियो ।

पक्की भवन बनेपछि आफ्नै भवनबाट अध्ययन अध्यापनका कार्यक्रम सञ्चालन हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जब्बरबहादुर लामिछानेले बताउनुभयो । बुधबार क्याम्पस भवनको शिलान्याश गरिएको छ । क्याम्पस सञ्चालनका लागि सबैभन्दा धेरै चन्दा सहयोग गरेका दाता र भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका दाताहरुले क्याम्पस भवनको शिलान्याश गरे । चन्दादाता शालिग्राम कँडेलले गाउँमै रहेको क्याम्पसका लागि सुविधासम्पन्न भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

जग्गादाता गुमा कार्कीले शिक्षा क्षेत्रको उन्नयनका लागि सबैले त्याग र योगदान गर्नुपर्ने बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लामिछाने, उपाध्यक्ष डिलबहादुर कार्की लगायतले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । ९६ लाख लागत अनुमान गरिएको भवनका लागि अपुग रकम जुटाउन व्यवस्थापन समितिले नयाँ अभियान चलाउने जनाएको छ । उपभोक्ता समिति मातहत निर्माण हुने भवन आगामी असार मसान्तसम्ममासम्पन्न हुने बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.