भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध

हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध

खलङ्गा । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ । सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातले विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ ।हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताउनुभयो ।

विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन् । विद्युत् अवरुद्ध भए पछि खलङ्गाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत्का खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।

मौसम सफा भएपछि कुन ठाउँमा विद्युत् क्षति पुगेको छ सोही ठाउँमा कर्मचारी खटाएर विद्युत् सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताउनुभयो । हिमपातका कारण जुम्ला जिल्ला पूरै हिउँले सेताम्य भएको छ । हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाई तथा सडक यातायात पूर्णरुपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ ।

कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो

कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् ।

आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजिअ प्रमिला रिजालले बताउनुभयो । सडक खुलाउनका लागि सदरमुकाम खलङ्गाबाट दुई डोजर प्रयोग भएका छन् । सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनुभयो । हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन । भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.