काठमाडौं, २ असोज । बडादशैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ । दशैँ मनाउन काठमाडौं उपत्यकामा रहेका नागरिक धमाधम गाउँघर फर्किन थालेपछि नयाँबसपार्कमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको भीड बढेको हो ।
विशेषगरी लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्न थालेको यातायात व्यवसायीहरूले बताएका छन् । दशैँका लागि घर फर्किने क्रम सुरु भएसँगै बसपार्कमा यात्रुको आवागमनसमेत बढेको छ ।
यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । अग्रिम टिकट बुकिङ सुरु भएपछि दशैँको मुख्य समयमा घर फर्किने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ ।
नयाँबसपार्कबाट देशका विभिन्न जिल्लाका लागि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् । दशैँको समयमा यात्रुको चाप व्यवस्थापन तथा सहज आवागमनका लागि यातायात व्यवसायी र सम्बन्धित निकायले आवश्यक तयारी अघि बढाउने जनाएका छन् ।
