भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ

काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ

काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा लामो समयदेखि श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुट्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सूचनाका आधारमा सञ्चालन गरेको कारबाहीका क्रममा गिरोहका मुख्य नाइके आयन माझीसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा मुख्य अभियुक्त माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार अनुसन्धानका क्रममा उक्त समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहान तथा रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई लक्षित गरी लुटपाट गर्ने गरेको खुलेको छ ।

प्रहरीका अनुसार उनीहरूले महिला तथा पुरुषलाई ठेगाना सोध्ने बहानामा रोक्ने, नियन्त्रणमा लिने र सिक्री तथा अन्य गरगहना लुटेर फरार हुने गरेका थिए । फरार हुने क्रममा उनीहरूले पटक–पटक सवारीसाधन परिवर्तन गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।प्रहरीले उक्त समूह हालसम्म १५ वटाभन्दा बढी मोटरसाइकल चोरी तथा लुटपाटसम्बन्धी २७ भन्दा बढी घटनामा संलग्न रहेको पाइएको जनाएको छ ।

पक्राउ परेका आयन माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा कारागार बसेर छुटेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको खुलेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र धारिलो हतियार खुकुरी बरामद गरेको छ ।

प्रहरीले गिरोहमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जनाएको छ । पक्राउ परेकाहरूमाथि लुटपाट, चोरी तथा अन्य घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.