भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकवानपुरमा प्रहरीमाथि खुकुरी र बन्चरो प्रहार, आत्मरक्षामा गोली चल्दा युवक घाइते

मकवानपुरमा प्रहरीमाथि खुकुरी र बन्चरो प्रहार, आत्मरक्षामा गोली चल्दा युवक घाइते

हेटौंडा, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएको छ । आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध सेवन गरी झगडा भइरहेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बुधवार बेलुका करिब ९ बजे पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा टोली त्यहाँ खटिएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथि आक्रमण भएको बताइएको छ । आक्रमणकारीहरूले बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङका दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण बाहिर जान थालेपछि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए । उक्त गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् । उनको पेटको दाहिने भागमा गोली लागेको र उपचारका लागि सिएमसी चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनापछि थप प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा पुगेको टोलीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा हेटौंडा–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङ रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै व्यक्ति र घाइते तितुङ विगतमा लागूऔषध, ज्यान मार्ने उद्योग तथा चोरीजस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.