भर्खरै : Sorry, your browser does not support inline SVG.

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

जाजरकोट । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्घर्ष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ ।

अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म रकम प्राप्त भएको छैन । राज्यले दिने रकमको प्रतीक्षामा उनी छन् । आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिकरुपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका–१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताए । उनले भने, “यता घर भत्किएका छन्, त्रिपालबाट कहिले निस्कने बाबा रु, हाम्रो घर कहिले बनाउने भन्दै छोरा, छोरीले हजार पटक प्रश्न गर्छन् रु अब के उत्तर दिनु ।”

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, “बारेकोटमा पर्याप्त मात्रामा राहत सामग्री नआउँदा कठिनाइ खप्नु परेको छ । त्रिपाल प्राप्त भएका छन् तर तिनलाई जोड्ने कुनै पनि सामग्री आएका छैनन् खुला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ ।” नलगाड नगरपालिकामा अस्थायी आवास निर्माण बनाउन बजेट प्राप्त भएको छैन । जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको स्पष्ट गरेको छ । भूकम्पप्रभावित जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा दुई हजार पाँच सय ४९ परिवार, नलगाड नगरपालिकामा आठ हजार ९७, छेडागाड नगरपालिकामा तीन हजार छ सय ६४, बारेकोटमा पाँच हजार पाँच सय ८६ परिवार, कुशेमा पाँच हजार दुई सय ८६, जुनिचाँदेमा दुई हजार पाँच सय ३६, शिवालयमा तीन हजार तीन सय नौ गरी जम्मा ३१ हजार ५५ घर परिवारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन् ।

हालसम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा रु छ करोड ३७ लाख २५ हजार, नौ करोड १६ लाख, बारेकोटमा रु १३ करोड ९६ लाख ५० हजार, कुशेमा रु १३ करोड २१ लाख ७५ हजार, शिवालयमा रु आठ करोड २७ लाख २५ हजार प्रदान गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.