भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

४५ प्रतिशत निर्माण सम्पन्न हुँदा यस्तो छ तराई–मधेस फास्ट ट्र्याकको अवस्था

४५ प्रतिशत निर्माण सम्पन्न हुँदा यस्तो छ तराई–मधेस फास्ट ट्र्याकको अवस्था

काठमाडौँ, १७ माघ । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको समष्टिगत प्रगति ४५ प्रतिशत नाघेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस आयोजनाको हाल भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ।

आयोजना अन्तर्गत महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण गरिने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन्। हालसम्म मकवानपुरको धेद्रे र लेनडाँडामा रहेका दुईतर्फी चारवटा सुरुङको ब्रेक–थ्रु सम्पन्न भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ।

नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ। ती सबै सुरुङको कुल लम्बाइ १०.९७ किलोमिटर रहेको छ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने ७०.९७ किलोमिटर लामो द्रुतमार्ग पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको हुनेछ। आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण गरिनेछ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार द्रुतमार्गमा साना तथा ठूला गरी ८९ वटा पुल निर्माण गरिनेछ। हालसम्म ८२ मिटर उचाइसम्मका विशेष प्रकृतिका १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् भने ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका छन्।

बाँकी चार स्थानमा पुल निर्माणका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म थप १५ स्थानका पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस्तै, आयोजना अन्तर्गत ११ किलोमिटर सडकमा सबवेस तथा सर्भिस लेनको काम सम्पन्न भइसकेको छ भने पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ।

राजधानी काठमाडौँलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्ट्यान्डर्ड’को रणनीतिक महत्व बोकेको यो देशकै पहिलो द्रुतमार्ग हो। प्रारम्भिक अनुमानअनुसार आयोजनाको लागत दुई खर्ब १३ अर्ब रुपैयाँ रहेको छ।

आयोजना २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको सेनाले जनाएको छ। फास्ट ट्र्याक पूरा भएपछि काठमाडौँबाट मध्य तराई करिब एक घण्टामै पुग्न सकिनेछ।

 


Thali Mobile Pvt.Ltd.