काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज साउन २९ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो।
कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको छ भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका छुट्याइएको छ ।
विदेशमा रोजगार गर्ने नेपालीहरुका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी गएको हुनुपर्ने छ । यसका लागि कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्काशन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १० कित्ता देखि अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता शेयरका लागि आवेदन दिन सक्ने बताइएको छ ।
यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पनि यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको यस आईपीओ अन्तर्गत स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
एनआईएमबि एस क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २६ गतेसम्म हुनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भदौ ११ गते निष्काशन बन्द हुनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
