भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ लोकदोहोरी गीत ‘फुल फुलेको डाली’ सार्वजनिक | प्रधाप्नधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिपछि चौतर्फी विरोध, परराष्ट्र मन्त्रालयले दियो स्पष्टिकरण | कालीमाटी बजारमा कृषिउपजको थोक मूल्य निर्धारण, गोलभेँडा ३५ देखि ८० रुपैयाँसम्म | राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण | काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण | प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको छवि कमजोर बनाएको हर्क साम्पाङको आरोप | इरान–अमेरिका सम्झौतामा ट्रम्पको नयाँ सर्त, थप संशोधनको मागपछि वार्ता अनिश्चित | गुठी संस्थानको निर्णयले मोही किसानको अधिकार खोस्न खोजे आरोप |

इरान–अमेरिका सम्झौतामा ट्रम्पको नयाँ सर्त, थप संशोधनको मागपछि वार्ता अनिश्चित

इरान–अमेरिका सम्झौतामा ट्रम्पको नयाँ सर्त, थप संशोधनको मागपछि वार्ता अनिश्चित

वासिङ्टन, १८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम तथा द्विपक्षीय समझदारीसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदामा थप संशोधन गर्न माग गर्नुभएको छ। यससँगै दुवै देशबीच जारी वार्ता थप जटिल बन्ने संकेत देखिएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले विशेषगरी स्ट्रेट अफ होर्मुजको व्यवस्थापन तथा उच्च संवर्द्धित युरेनियम हटाउने विषयमा थप स्पष्टता र संशोधन चाहनुभएको हो। यद्यपि ह्वाइट हाउसले यसबारे औपचारिक टिप्पणी गरेको छैन।

यसैबीच इरानका मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफले तेहरानले आफ्ना राष्ट्रिय अधिकार र हित पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ। उहाँले इरानको सार्वभौम अधिकारमा कुनै सम्झौता नहुने अडान दोहोर्‍याउनुभएको छ।

इरानसँगको युद्धविरामको म्याद थप गर्ने तथा दीर्घकालीन समझदारीमा पुग्ने विषयमा राष्ट्रपति ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूबीच गत शुक्रबार विशेष बैठक बसेको थियो। तर उक्त बैठकबाट कुनै अन्तिम निर्णय ननिस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रस्तावित सम्झौताको पछिल्लो मस्यौदामा ६० दिनसम्म हिंसा अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रमबारे पुनः वार्ता सुरु गर्ने विषय समावेश गरिएको छ। कूटनीतिक प्रयास सफल भए इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्ध हटाउन सकिने र रोक्का गरिएका अर्बौँ डलर बराबरका सम्पत्तिमा इरानले पहुँच पाउने सम्भावना रहेको छ।

यसअघि अमेरिकी अधिकारीहरूले दुवै देश प्रारम्भिक समझदारीको चरणमा पुगेको बताएका थिए। राष्ट्रपति ट्रम्पले पनि इरानले आणविक हतियार विकास नगर्ने सुनिश्चितता आफूलाई आवश्यक रहेको र त्यसबारे सकारात्मक संकेत प्राप्त भएको बताउनुभएको थियो। यद्यपि उहाँले कुनै पनि सम्झौता अमेरिकाको हितअनुसार मात्रै हुने स्पष्ट पार्नुभएको छ।

शुक्रबारको बैठकपछि ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले अमेरिकाका सर्त पूरा हुने सम्झौता मात्र स्वीकार गर्ने बताउँदै इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न नदिने अमेरिकी अडान यथावत रहेको जानकारी दिएका थिए।

यसैबीच सिङ्गापुर भ्रमणमा रहेका अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले वार्ता अपेक्षाअनुसार अघि नबढे पुनः सैन्य कारबाहीको विकल्प खुला रहेको चेतावनी दिनुभएको छ। उहाँले अमेरिकासँग आवश्यक सैन्य क्षमता र अत्याधुनिक हतियार तयारी अवस्थामा रहेको दाबी गर्नुभएको छ।

यता इरानी विदेशमन्त्री अब्बास अराघचीले कुनै निष्कर्ष ननिस्कँदासम्म सार्वजनिक रूपमा भइरहेका धेरै चर्चा अनुमान र अड्कलबाजी मात्र भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले इरानले आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा भएपछि मात्रै आणविक कार्यक्रमसम्बन्धी थप वार्तामा गम्भीरतापूर्वक अघि बढ्ने बताउनुभएको छ।

अमेरिका र इरानबीच जारी वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। गत अप्रिल ८ देखि युद्धविराम लागू भए पनि हालसम्म दुवै पक्षबीच औपचारिक सम्झौता हुन सकेको छैन। यद्यपि वार्ता जारी रहेकाले निकट भविष्यमा कुनै सहमति हुन सक्ने सम्भावना जीवित रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.