काठमाडौं, २२ असोज । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरूप फेरिन थालेको छ ।
देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा रहेको नेपाल प्रिमियर लिगलाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्ड व्यवस्थापन र प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मैदानलाई खेलाडी तथा दर्शक दुवैका लागि सहज बनाउने गरी विभिन्न संरचना थपिँदै छन् ।
मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहेँलो, रातो, सुन्तला र सेतो रङ्गका कुर्सी जडान गरिएको छ । मैदानको आउटफिल्डलाई समेत तीव्र गतिमा बल बाउन्ड्री पार गर्न सक्ने किसिमले तयार पार्ने काम भइरहेको प्राविधिक टोलीले जनाएको छ । स्थानीय क्युरेटर तथा मैदानकर्मीहरू बिहानैदेखि घाँसको लम्बाइ समान बनाउन स्वचालित घाँस काट्ने उपकरण प्रयोग गरिरहेका छन् ।
पिचको कडापन कायम राख्न रोलर चलाउने तथा आउटफिल्डमा आवश्यक मात्रामा पानी र मलखाद प्रयोग गरी घाँसको स्याहार गर्ने काम पनि भइरहेको छ । मैदान परिसरमा नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्गलगायतका संरचना निर्माण भइरहेको छ । निर्माणमा संलग्न कामदारहरूले बालुवा, गिट्टी र इँटाको प्रयोग गरी विभिन्न संरचनाको जग निर्माण गरिरहेका छन् ।
त्यसैगरी फलामका ट्रस तथा बिम जडान गरी खेलका क्रममा आवश्यक पर्ने कमेन्ट्री कक्ष, प्रत्यक्ष टेलिभिजन प्रसारणका लागि क्यामेरा राख्ने स्थान तथा विशिष्ट अतिथि कक्ष निर्माणको काम अघि बढाइएको छ । मैदान परिसरमा सुरक्षा व्यवस्थालाई समेत विशेष प्राथमिकता दिइएको छ । सीसीटीभी क्यामेरा, धातु जाँच उपकरण तथा सुरक्षा जाँच चौकी राखिने तयारी गरिएको छ ।
दर्शकका लागि विद्युतीय टिकट प्रणाली लागू गरिनेछ । टिकटमा उल्लेख भएको प्रवेशद्वार र सिट नम्बरका आधारमा दर्शकलाई आफ्नो स्थान पहिचान गर्न सहज हुने व्यवस्था मिलाइँदैछ । दर्शकको सवारीसाधन व्यवस्थापनका लागि कीर्तिपुर क्षेत्रका विभिन्न खुला स्थानलाई पार्किङका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ ।
प्रतियोगिताका क्रममा विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकका लागि वातानुकूलित र आधुनिक उपकरणसहितका कार्यकक्ष निर्माण गर्ने काम पनि भइरहेको छ ।
नेपाल प्रिमियर लिगका खेल हेर्न ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएकाले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने तयारी गरिएको छ । नेपाल प्रहरी र आयोजकले दर्शकको आवागमन तथा मैदानको सुरक्षालाई ध्यानमा राखेर आवश्यक सुरक्षा योजना बनाइरहेका छन् ।
