मुस्ताङ, १५ कात्तिक । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि कार्यालयले नौ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, साढे तीन महिना नबित्दै लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो । भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरला नाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् ।
सोही अवधिमा नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन् । यस अवधिमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ । जाँचपासपछि ती सवारीसाधन गन्तव्यतर्फ पठाइएको भन्सार अधिकृत सिंहले जानकारी दिए । गत आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
दशैँअघि असोज २७ गतेसम्म कार्यालयले आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । दशैँपछि थप तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले बताए । दशैँअघि कोरला नाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ मालवस्तु नेपाल भित्रिएका थिए । दशैँपछि थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
विद्युतीय सवारीसाधनको आयात पनि दशैँपछि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज २७ गतेसम्म तीन हजार ९२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । दशैँपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको सिंहले जानकारी दिए ।
भन्सार अधिकृत सिंहका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा कोरला नाकाबाट हुने आयात–निर्यात कारोबार बढेको हो । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका सामान कोरला नाकाबाट नेपाल भित्रिएका छन् । यसले कोरला नाकाको व्यापारिक गतिविधि थप बढाएको भन्सार कार्यालयको भनाइ छ ।
चीनसँगको वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित हुँदै गएको कोरला नाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् । नेपाल–चीन उत्तरी कोरला नाका सरकारले गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो । पछिल्लो समय अन्य प्रमुख नाका बन्द हुँदा कोरला नाकाको व्यापारिक महत्त्व थप बढेको छ ।
