कञ्चनपुर, १५ कार्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडान गर्ने कार्य अघि बढाउन निर्देशन दिएको हो ।जंगली हात्तीको आवागमनसम्बन्धी सूचना सङ्कलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको विभागले जनाएको छ ।
रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमबारे पूर्वानुमान गरिनेछ । यसबाट हात्तीको गतिविधिबारे समयमै जानकारी प्राप्त हुने र जोखिममा रहेका बस्तीका नागरिकलाई पूर्वसचेत गराउन सकिने अपेक्षा गरिएको छ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त सूचनाको विश्लेषण गरी हात्ती बस्तीमा प्रवेश गर्न सक्ने अवस्थाबारे पूर्वजानकारी लिन सकिने बताइन् ।
उनका अनुसार यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी कम गर्न सहयोग पुग्नेछ ।मन्त्री चौधरीले रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिने जानकारी दिइन् ।
हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्ने र त्यसपछि नियमित अनुगमन गर्ने तयारी गरिएको उनले बताइन् । रेडियो कलर जडानपछि हात्तीको आवागमनसम्बन्धी तथ्याङ्कका आधारमा जोखिमयुक्त क्षेत्र पहिचान गर्न तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
