काठमाडौं । उदयपुरका ३५ वर्षीय सुरेश दनुवार काभ्रेको नालास्थित विद्यालयमा पढाउँछन् । पत्नी राधिकाकुमारी दुई सन्तान र घर–व्यवहार सम्हाल्छिन् । सुरेशको खुट्टा अचानक सुन्निन थाल्यो ।
बनेपास्थित डेरादेखि नालासम्म हिँडेरै विद्यालय आउजाउ गर्ने भएकाले सुन्निएको भन्ठाने, वास्ता गरेनन् । टेक्नै नसक्ने गरी सुन्निन थालेपछि अस्पताल गए । नसाको औषधि खाँदै थिए, दसैंमा माछामासु खाएपछि व्यथाले झन् चाप्न थाल्यो ।
उनी भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगे । मिर्गौला फेल भएको पत्ता लाग्यो । डायलसिस सुरु गरेको एक महिनापछि चिकित्सकले मिर्गौला दाता खोजेर चाँडै प्रत्यारोपण गर्न सुझाए । पत्नी मिर्गौला दिन तयार भइन् ।
‘मिर्गौला दिनेलाई केही समस्या हुन्न भनेर डाक्टर र त्यहाँ आउने बिरामीले भने,’ राधाकुमारीले भनिन्, ‘अरू कोही छैनन्, म मरे पनि श्रीमान् बाँचे भने बच्चाहरू पाल्छन् भनेर तयार भएँ ।’
डायलसिस सुरु गरेको एक वर्षपछि गत साता सुरेशले पत्नीबाट मिर्गौला प्रत्यारोपण गराएका छन् । केन्द्रले सेवा थालेको १० वर्षमा एक हजार सात जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।
०६९ माघमा केन्द्रले सेवा सुरु गरेको हो । प्रत्यारोपण सेवा लिएका लाभग्राहीको विवरण राखेर केन्द्रले हालै ‘१००० सफल मिर्गौला प्रत्यारोपण’ स्मारिका निकालेको छ, जसमा महिलाबाट मिर्गौला लिने पुरुष अधिक देखिन्छन् ।
वीर अस्पतालमा भने हालसम्म १८० जनाको प्रत्यारोपण गरिएको छ तर मिर्गौला दाताको लैंगिकता छुटिने गरी तथ्यांक नराखिएको सूचना अधिकारी सागर मिश्रले बताए ।
प्रत्यारोपण सेवाले हजारौं मिर्गौला बिरामीलाई अकालमा मृत्युको मुखबाट नयाँ जीवनमा फर्काए पनि मिर्गौला दिने र लिनेबीच लैंगिक असमानता देखिन्छ ।
परिवारमा पुरुष सदस्यको मिर्गौला प्रत्यारोपण गर्नुपर्दा दाताका रूपमा महिलालाई अघि सारिन्छ वा राधिकाकुमारीझैं आफैं अघि सर्छन् ।
वैदेशिक रोजगारीमा रहेका युवा स्वदेश फर्कंदा मिर्गौलाको समस्यासहित फर्किने दर बढिरहेको अध्ययनहरूले देखाएका छन् ।
मिर्गौला दानमा लैंगिक असमानता रहिरहने हो भने महिला नै प्रभावित हुने सम्भावना छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
