पोखरामा । अमरसिंह चौरमा सभा गरेको ९ महिनापछि पोखरा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारीपीडितले कालो झन्डासहित प्रदर्शन गरेका छन् । मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा सहभागी हुन कडा सुरक्षा घेराका साथ उनी पोखरा आएका थिए ।
कार्यक्रमस्थल बिरौटाको ग्यालेक्सी बैंक्वेट अगाडि जम्मा भएका सहकारीपीडितले नाराबाजी गर्दै कालो झन्डा देखाएपछि आक्रोशित बनेका लामिछानेले प्रदर्शनकारीलाई ‘अपराधी’ को संज्ञा दिएका छन् । बैठकमा सम्बोधनका क्रममा लामिछानेले अधिकांश समय सहकारी ठगी काण्डमा आफू निर्दोष रहेको बताउनमा खर्च गरेका थिए ।
लामिछानेले लामो समयदेखि पोखरा आउने योजना बनाए पनि सहकारीपीडितको आन्दोलन तथा प्रदर्शनको सम्भावना देखेर पटक–पटक कार्यक्रम स्थगित गरेका थिए । पार्टीले प्रदेशस्तरीय विस्तारित बैठक गर्ने भएपछि सहभागी हुनैपर्ने बाध्यता परेर उनी मंगलबार आएका हुन् । उनले सहकारीपीडितले आफूलाई लक्षित गरी अपराध गरेको टिप्पणी गरेका छन् ।
‘कस्तो संघर्ष समिति हो रु अपराध गर्दै हुनुहुन्छ साथीहरू,’ उनले भने, ‘ तपाईँले गलत मान्छेलाई टार्गेट गरेर लाखौं सहकारीपीडितमाथि अन्याय गर्दै हुनुहुन्छ ।’ लामिछाने विस्तारित बैठकमै आक्रोशित बनेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दीमा बैठक गरिएको थियो । बैंक्वेटको गेटबाटै सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन ।
पार्टी कार्यकर्ताहरूलाई पनि मोबाइल नचलाउन र भिडियो नखिच्न भन्दै लामिछानेले नै निर्देशन दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट उपस्थित कार्यकर्ताले पार्टीको सांगठनिक संरचना, कार्यदिशा, मार्गनिर्देशक सिद्धान्तलगायत विषयमा प्रश्न उठाएपछि उनी थप चिढिएका थिए । आफ्नो बोल्ने पालो आएपछि लामिछाने मञ्चमा पुगेर भिडियो खिचिरहेका कार्यकर्तालाई भिडियो नखिची आफ्नो कुरा सुन्न भन्दै हप्काएका थिए । त्यसपछि उनी बैंक्वेट बाहिर प्रदर्शन गरिरहेका पीडितमाथि खनिएका हुन् ।
‘सहकारीपीडितका लागि लड्नुभएको भए मेरो साथ छ, सलाम छ । जो मानिसले गल्ती गरेको छैन, अपराधमा संलग्न छैन, उसैलाई दोषीझैं गरी कसैले उक्साएको भरमा तपाईंहरूले विरोध गरिरहनुभएको छ । तपाईंले विरोध नगरिदिनुभएको भए तपाईंको न्यायका लागि लड्ने मान्छेको अग्रपंक्तिमा रवि लामिछाने हुने थियो,’ उनले भने, ‘तपाईंले मौका गुमाउनुभएको छ ।’ उनले वास्तविक सहकारी ठगलाई छाडेर आफूमाथि केन्द्रित हुँदा विषय अन्तै मोडिएको दाबी गरे ।
‘लाखौं सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने विषय, त्यो आन्दोलनमा हामी पनि अग्रपंक्तिमा आउनुपर्ने ठाउँमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोड्नुभएको छ,’ उनले दोहोर्याएर भने । आफूविरुद्ध प्रमाण ल्याए बैठकस्थलबाटै राजनीति त्याग्न तयार रहेको उनको जिकिर थियो । गोर्खा मिडिया नेटवर्क र जीबी राईले गरेको बदमासी सर्वसाधारणले थाहा पाएपछि आफूले पनि थाहा पाएको उनको दाबी थियो ।
‘गोर्खा मिडिया नेटवर्कमा कार्यकारी अध्यक्षको हैसियतमा सबै हिसाबकिताब जीबी राईले हेरेकाले कहाँबाट कति पैसा आयो भन्नेबारे मलाई थाहा छैन,’ उनले थपे, ‘मैले ऋण लिएको प्रमाणित भए, ऋण तिर्ने दायित्व होला, कति हो त ऋण मेरो, कहाँबाट हो त मैले ऋण लिएको रु कहाँ गएर तिर्ने, कि कान्तिपुरलाई लगेर बुझाउने हो रु बुझाउने त ऋण लिएको ठाउँमा होला नि ।’
उनले कांग्रेस–एमालेको सरकारले आफू निर्दोष भएकैले अहिलेसम्म पक्राउ नगरेको पनि उल्लेख गरे । ‘यो विषय उठेको १७र१८ महिना भयो । चार महिना हामी सरकारमा भयौं होला । बाँकी दिन मैले गल्ती गरेको भए, के यिनीहरूले मलाई दया गरेर, माया गरेर छाडेका हुन् र रु,’ उनले प्रश्न गरे, ‘आफ्नै पार्टीको बालकृष्ण खाणलाई घरको ढोका फोडेर घोक्रेठ्याक लगाएर जेल हाल्नेहरूले रवि लामिछानेलाई दया गरेर, माया गरेर, कठै बिचरा भनेर छाडेका होइनन् ।’
उपप्रधान तथा गृहमन्त्री रहँदा पनि पोखरा नपुगेका लामिछाने झन्डै ९ महिनापछि पोखरा आउने थाहा पाएपछि सूर्यदर्शन सहकारीपीडितले प्रदर्शन गर्ने तयारी गरेका थिए । ठूलो मात्रामा प्रदर्शनकारी जम्मा हुन सक्ने जानकारी पाएपछि प्रहरीले पोखरा विमानस्थलदेखि नै उनलाई कडा सुरक्षा घेराबीच कार्यक्रमस्थल पुर्याएको थियो । दिउँसो करिब १ बजे लामिछाने बिरौटा पुग्दा पीडितहरू कार्यक्रमस्थलको गेट बाहिर प्लेकार्ड लिएर उभिएका थिए ।
लामिछाने गाडी नरोकी कडा सुरक्षा घेराबीच सिधैं कार्यक्रमस्थलभित्र प्रवेश गरे । त्यसपछि पीडितले नाराबाजी गर्दै उनलाई कालो झन्डा देखाएका थिए । जीबी राईलाई झिकाउनुपर्ने, गोर्खा मिडियामा रहँदा अपचलन गरेको रकम फिर्ता गर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने माग पीडितहरूले गरेका थिए । कान्तिपुर दैनिकबाट….
