DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इजरायल–हमास द्वन्द्वले विक्षिप्त छन् मृतकका आफन्त


  • आश्विन २३, २०८०
  • 390 Views
इजरायल–हमास द्वन्द्वले विक्षिप्त छन् मृतकका आफन्त image

काठमाडौँ । भूकम्पले बझाङको जयपृथ्वी नगरपालिका–११ चैनपुरका धनलाल नेपालीको घरका भित्ता चिरा परेका छन् । गत मंगलबार भूकम्पपछि इजरायलमा रहेका छोरा गणेशले आमालाई फोन गरेर भनेका थिए, ‘घर धेरै चर्केको भए भित्र नबस्नु, आफ्नो ख्याल राख्नुहोला ।’

इजरायल–हमास द्वन्द्वले विक्षिप्त छन् मृतकका आफन्त

गणेशको त्यही शब्द आमाबाबु र परिवारका लागि अन्तिम भयो । इजरायलमा भएको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीमा गणेश पनि परेपछि दाजु विकासलाई सम्हालिन गाह्रो परेको छ । ‘परिवारमा सबैको रुवाबासी छ । गाउँका दाजुभाइले आमाबुबालाई सम्झाउने प्रयास गरिरहनुभएको छ, तर सम्हालिरहनुभएको छैन,’ उनले भने । आइतबार साँझदेखि मूर्च्छित गणेशकी आमा होस खुलेका बेला बिलौना गर्छिन् ।

स्थानीय सत्यराज सिंहले भने, ‘मेरो छोराले परान जानेबेला पानी पायो होला कि नाइँ, ऐय्या भन्यो होला कि नाइँ भनेर भक्कानिन्छिन् र मूर्च्छा पर्छिन् ।’ विपन्न दलित परिवारमा जन्मेका गणेश पढाइमा अब्बल थिए । गीतसंगीतमा रुचि राख्ने, स्टेज कार्यक्रम गर्ने, मिलनसार भएकाले सबैले माया गर्ने चैनपुरका उनका साथीहरूले सुनाए । ‘सिलाइकटाइ गरेर पढाएको छोरा हो, अब के गरूँ, कसरी चित्त बुझाऊँ ?’ बुबा धनलालले भने ।

आइतबार साँझ झमक्क हुन थालेपछि कैलाली घोडाघोडी नगरपालिका जनकपुरका हरिकृष्ण न्यौपानेको घरमा छरछिमेकी ओइरिन थाले । इजरायल घटनाबारे न्यौपाने परिवारले खबर नपाए पनि गाउँलेबीच फैलिसकेको थियो । तर, तत्काल सुनाउने हिम्मत कसैले गर्न सकेका थिएनन् । किनकि हरिकृष्णका माइला छोरा नारायण पनि परेका थिए ।

भूकम्पले घर लग्यो, हमासले छोरा
‘धेरैबेरसम्म आमाबाबुलाई कसैले पनि नारायण घटनामा परेको सुनाउने हिम्मत गरेनौं,’ उनका दाजु नाता पर्ने मोतीलाल न्यौपानेले भने, ‘पछिपछि हाम्रा सबै परिवार जम्मा हुँदै गए, अनि बिस्तारै कुरा खोल्यौं ।’ सुरुमा त आमाबाबुले घटनामा आफ्नो छोरा पनि परेको पत्याएनन् । ‘सबै भेला भएको देखेर झस्किएर रुन कराउन थाले,’ मोतीलालले भने, ‘पछि उनीहरूले नारायणका साथीलाई सम्पर्क गरे । त्यताबाट पनि त्यस्तै खबर आयो ।’ बाल्यकालमै आमा गुमाएका नारायणलाई कान्छीआमाले हुर्काएकी थिइन् । उनका दाजु परिवारसहित भारतको बेंग्लोरमा छन् भने कान्छो सानै छन् ।

कैलालीकै जोशीपुर–५ मैनपोखरीका ७० वर्षीय कन्हैयालाल चौधरीको एक्लो सहारा थिए– नाति आशिष । कन्हैयालालकी श्रीमती उहिल्यै बितिन्, एक्लो छोरा सुरज ०५४ सालदेखि पक्षाघात भएर अपांग छन् । कन्हैयालालकी कान्छी छोरीका छोरा हुन्, आशिष । बाबुआमा भारतको बेंग्लोर बस्ने भएकाले आशिषलाई बाल्यावस्थादेखि नै उनले आफैंसँग राखेर हुर्काएका थिए । इजरायल पढ्न गएका नातिको मृत्युको खबरले उनी विक्षिप्त छन् । ‘अब म कसको मुख हेरेर दिन काटुँ रु’ उनले भक्कानिँदै भने, ‘नातिलाई आएको काल मेरा लागि किन आएन होला ।’

५७ वर्षीय घनश्याम फुलारा छोराको वियोगमा शनिबार साँझदेखि छटपटिएका छन् । छोरा राजनको मृत्युको खबरले डोटीको शिखर नगरपालिका–५ पचनालीको फुलारा परिवार स्तब्ध छ । यसअघि कलिलै उमेरका दुई छोरा गुमाएका फुलारा दम्पती अब निःसन्तान भएका छन् । विपन्न परिवारका घनश्यामले २३ वर्षीय छोरा राजनलाई ७ लाख ऋण काढेर इजरायल पठाएका थिए । ‘गरिबीका बीच जेहेनदार छोराको भविष्यका लागि इजरायल पठाउनुभएको रहेछ,’ शिखर नगरपालिका प्रमुख दीर्घबहादुर बलायरले भने, ‘सहाराका रूपमा रहेको छोरा पनि विदेशमै गुमाउँदा यसअघि दुई छोरा गुमाउँदाको घाउ झन् बल्झिएर असह्य पीडाबोध भएको छ ।’ राजनको घरमा अहिले बज्यै र आमाबुबा मात्र छन् ।

इजरायल घटनाले दार्चुलाका दुई गाउँ शोकमा
डोटीकै आदर्श गाउँपालिका–५ लामीखालका ६५ वर्षीय टीकाराम थापा छोरा पदमको दुःखद खबर सुन्नेबित्तिकै बेहोस भएर ढले । एकाएक रक्तचाप बढेपछि राति नै उपचारका लागि दिपायल ल्याइएको थियो । ३ छोरा र १ छोरीमध्ये सबैभन्दा कान्छो पदम अरूभन्दा हँसिला थिए । शनिबार इजरायलमा आक्रमण भएसँगै उनले भाउजू मेखु अधिकारीलाई ‘म मरेँ भन्दै।।।’ म्यासेज गरेका थिए । भूकम्पबारे जानकारी दिन भाउजूले फोन गर्दा पदमले ‘म मरेँ भन्दै’ म्यासेज गरेको आफन्तले बताए ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले इजरायल घटनामा मृत्यु भएका सुदूरपश्चिमका सात जनाका परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै शव ल्याउन सहजीकरण गरिदिन संघ सरकारलाई अनुरोधसमेत गरेको छ ।

भदौ २० गते घरबाट निस्केयता २४ वर्षीय प्रवेश भण्डारी सल्यानको शारदा नगरपालिका–४ साहुटोलमा बस्दै आएकी आमा चन्द्रिकासँग दैनिकजसो फोन गर्थे । हरेक दिन उनी एक्लो छोरो प्रवेशसँग कुरा नगरी सुत्दैन थिइन् । शुक्रबार मोबाइलमा सम्पर्क हुन नसकेको भन्दै प्रवेशले पछि फोन गर्छु भनेर म्यासेज छाडेका थिए । इजरायलमा आक्रमणको घटना सुनेपछि चन्द्रिकाले छोरासँग फोन गर्न खोजिन् तर सम्पर्क हुन सकेन ।

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार
सोमबार बिहानमात्र छोराको मृत्यु भएको खबर ४५ वर्षीया चन्द्रिकाले पाइन् । प्रवशेका बुवा ४९ वर्षीय चक्रबहादुर पनि विक्षिप्त छन् । ‘चिन्ता नलिनुस् बुबा, अब म पढेर कमाउने भैसकें । अहिले अभ्याससँगै काममा लागेको छु । केही महिनामै देशमा फर्केर जागिर खान्छु र पक्की घर बनाएर सबैलाई त्यही घरमा राख्छु भन्थ्यो,’ चक्रबहादुरले भने, ‘छोराको मृत्युको खबरले अहिले पनि श्रीमतीको अवस्था उस्तै छ । म आफैं पनि सम्हालिन सकेको छैन ।’ चाडपर्वको मुखमा भएको घटनाले स्थानीय र आफन्तजनलाई विक्षिप्त बनाएको स्थान्यी शोभा सेजुवालले बताइन् । उक्त घटनामा शारदा–२ का विधान सेजुवाल घाइते भएका छन् भने त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी सुरक्षित छन् । घाइतेको उपचार भइरहेको छ भने प्रमोद ज्यानको सुरक्षाका लागि बंकरमा बसेका छन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथका लोकेन्द्रसिंह धामी र लेकम गाउँपालिका–५ रिठाचौपाताका दीपेशराज विष्टको निधनले गाउँ नै शोकमा डुबेको छ । २० वर्षअघि श्रीमान् गुमाएकी पार्वती छोरा दीपेशको मृत्युको खबरले अचेत छिन् । दार्चुलाबाट महेन्द्रनगर हिँडेकी उनी छोराको खबर पाएपछि बाटोमै बेहोस भएकी थिइन्, गोकुलेश्वरमा अस्पताल भर्ना गरिएको हो ।

छोरा गुमाएपछि आमा अर्धचेत, परिवारसँगै सल्यानको गाउँ शोकमा

जेठा छोरा २४ वर्षीय दीपेशराज ४ वर्षको छँदा बुवाको निधन भएको थियो । एक्लै परिवार सम्हालेकी पार्वतीका लागि कमाउन थालेको छोरा गुमाउनु अकल्पनीय घटना भएको स्थानीय केशव बिष्टले बताए । मालिकार्जुन–४ हुनैनाथका २४ वर्षीय लोकेन्द्रसिंह धामीको मृत्युको खबरले गाउँभर सन्नाटा छाएको छ । धामीको परिवारमा हजुरआमा, आमाबुवा, श्रीमती, चार वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । गाउँनजिकैको लटिनाथ मावि चौपाताबाट १२ कक्षा पढेर टीकापुर गएका थिए ।

‘दुनिया अन्हरिया राति भगेलै । जीवन केहन भेलै हो । बौवाह जहिया दुनिया से गेलै तहिसा से फोने नै उठैहै’ ९संसार कालो राति भयो । जीवन कस्तो भयो रु छोराको मृत्युपछि फोन नै उठ्दैन० धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही सोमन साह यति भन्दै बेहोसीमै बरबराइरहेका थिए । २५ वर्षीय छोरा आनन्द मारिएपछि आफन्त र छिमेकी शोकमा छन् ।

इजरायल घटना स् छोराको मृत्युको खबरले भक्कानिइरहेका आमाबाबु

शुक्रबार राति ८ बजेतिर आनन्दले भिडियो कलमा आमा शुभकली र बहिनीसँग लामो कुराकानी गरेका थिए, बुवा बाहिर भएकाले कुरा हुन पाएन । ‘पापा आएपछि फोन गर्न भन्नु’ भन्दै आमासँग बिदा मागेका आनन्दको मोबाइलमा त्यसपछि पटक–पटक फोन गर्दा पनि उठेन । सम्पर्क हुन नसकेपछि बहिनीले उनका साथीलाई म्यासेज गरेकी थिइन् । उताबाट आनन्दका साथीले ‘अब दुनियामा रहेन’ भनेर पठाएको जवाफ सुनाएपछि सपही शोकमा डुबेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित पटवारी टोलका २६ वर्षीय राजेशकुमार स्वर्णकारको पढाइ सकेर बिहे गर्ने योजना थियो । शुक्रबार उनले म्यासेन्जरबाट घरमा रहेका दाजुसँग इजरायलमा कामको अवस्था र भविष्यको योजनाबारे कुरा गरेका थिए । मृतक राजेश राजकुमार स्वर्णकारका चार छोरामध्ये साइँला हुन् । पढाइ पूरा गरेर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि विवाह गर्ने सोचमा थिए उनी ।

इजरायलमा निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने
शनिबारको घटना सुनेपछि आमा कैलाशदेवी छोरालाई सम्झेर शोकमा डुबेकी छन् । शोकाकुल परिवार राजेशको शवको पर्खाइमा छ । कैलाशदेवीले भनिन्, ‘कृषि विज्ञानको ११ महिने इन्टर्नसिप सकेर नेपाल आएपछि केही गरौंला भन्दै थियो । कल्पनै नगरेको दशा आइलाग्यो । सरकारले छोराको शव कहिले ल्याइदिन्छ, त्यही पर्खिरहेका छौं ।’ कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.