DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘नेताहरूको बोलीले’ सेयर झन् ओरालो


  • मंसिर २८, २०७८
  • 443 Views
‘नेताहरूको बोलीले’ सेयर झन् ओरालो image

काठमाडौँ । केही दिनयता घटिरहेको सेयर बजार नीति निर्माताको ‘मनपरी’ अभिव्यक्तिले झनै प्रभावित बनेको छ । आइतबार र सोमबार सेयर बजारमा भारी अंकले गिरावट आउनुमा माओवादी केन्द्रका नेताहरूबाट आइरहेका अभिव्यक्तिलाई औंल्याइएको छ । आइतबार करिब ९० अंक घटेको सेयर बजार सोमबार करिब ८० अंक घटेर २ हजार २ सय ८१।६७ बिन्दुमा ओर्लेको छ । यो करिब एक वर्षयताकै न्यून बिन्दु हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई अनुत्पादक र साम्राज्यवादको विकसित रूप भनेर गत शनिबार टिप्पणी गरेका थिए । सोमबार अर्थमन्त्री जनार्दन शर्माले बजार हल्लाको भरमा चलेको र त्यसमा एउटा जमात् नै लागेको बताएका थिए । पहिले पनि नेताहरूले गरेको टिप्पणीका कारण सेयर बजारमा उतारचढाव आउने गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका संयोजक अम्बिका पौडेलले नीति निर्माण तहमा रहेका जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवार रूपमा बोलिदिँदा बजार प्रभावित हुने गरेको बताए । ‘बजारबारे केही ज्ञान भएका मानिस राजनीतिक दलका शीर्ष नेताहरूसँग निकट छन्, उनीहरूले सेयर कारोबार गर्दैनन् । नीति निर्माता र प्रशासकले भने उनीहरूबाट सेयर बजारबारे जानकारी लिन्छन् र त्यसैलाई पूर्ण मानेर बोलिदिन्छन् । तर त्यो अपूर्ण हुन्छ,’ उनले भने, ‘यथार्थ नबुझी बोलिदिँदा प्रभावित हुने गरेको छ ।’

बुझेर लागेका लगानीकर्ताले सेयर कारोबारलाई पेसाका रूपमा लिएका छन् । उनीहरूले नाफा कमाएको नीति निर्माताले देख्न नसक्ने भएकाले स्थापनाको तीन दशकसम्म पनि पुँजी बजार शिशु अवस्थामै रहेको पौडेलको भनाइ छ । नीति निर्माताले ठूला लगानीकर्ताको विरोध गरेकै कारण बजारमा साना लगानीकर्ताको बिचल्ली भएको उनले बताए । ‘सेयर कारोबारलाई पेसा बनाएका लगानीकर्ताले ठूलो परिमाणमा कारोबार गर्छन् ।

उनीहरू सचेत र सजग हुन्छन् । जब नीति निर्माताबाट बजारमा असर गर्ने खालका सूचना आउँछन्, उनीहरू कि संकुचित भएर बस्छन्, कि बजारबाट बाहिरिन्छन्,’ उनले थपे, ‘यसको प्रत्यक्ष असर बजारमा पर्छ । यस्तो अवस्थामा साना लगानीकर्ताले मात्र बजार थाम्न सक्दैनन् । उनीहरूको बिचल्ली हुन्छ । अहिलेको अवस्था त्यही हो ।’

नीति निर्माताले साना लगानीकर्ताको रक्षा गर्छौं भनेर ठूला लगानीकर्ताको हितविपरीत काम गर्दा पनि बजार नराम्ररी प्रभावित हुने पौडेलले बताए । ‘नीति निर्माताले ठूला लगानीकर्ता अडिएको धरातलको जरा काटिदिन्छन्,’ उनले भने, ‘जब ठूला ढल्छन्, साना लगानीकर्ता त्यही पेलानमा पिसिएर मर्छन् ।’ अहिले लाखौं संख्यामा रहेका साना लगानीकर्ता ठूला लगानीकर्ता र नीति निर्माताको मिचाइमा परेको उनको भनाइ छ ।

‘राजनीतिकर्मीले नीतिमार्फत साँढे ९ठूला लगानीकर्ता० लाई २र४ लट्ठी बजारे,’ उनले भने, ‘अब साँढे भाग्छन् । यही भागदौडमा साना लगानीकर्ता पिल्सिन्छन् ।’ नीति निर्माता र प्रशासकको भनाइबाट नेपालको मात्र नभएर विश्वभरकै बजार प्रभावित हुने भएकाले उनीहरू संयमित भएर बोल्नुपर्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालले सेयर बजारप्रति गरेको टिप्पणीलाई लक्ष्य गर्दै उनले भने, ‘उहाँहरूले बुझेर वा नबुझेरै बोल्नुभयो, यसै भन्न सकिन्न । तर उहाँहरूलाई सल्लाह दिने बुझेकै मान्छे भएको स्पष्ट हुन्छ ।’ गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री, अर्थसचिवलगायत जिम्मेवार पदमा रहेका व्यक्तिको भनाइले अर्थतन्त्रका हरेक गतिविधि चलायमान हुने उनले बताए ।

‘यस्ता व्यक्तिले आफूले के भन्न चाहेको हो, त्यसको असर कतिसम्म हुन सक्छ भन्ने आकलन गरेरमात्र बोल्नुपर्छ,’ खनालले भने । माओवादी केन्द्रका जिम्मेवार व्यक्तिबाटै लगातार एकै प्रकारको अभिव्यक्ति आइरहँदा उनीहरूले जानीजानी बजार घटाउन खोजेको हो कि भन्ने आशंका लगानीकर्ताले गर्न थालेको उनले बताए ।

माओवादी अध्यक्ष दाहालले शनिबार प्र्रदेशहरूको सम्मेलन उद्घाटन समारोहमा सेयर बजारको लगानी अनुत्पादक रहेको र यसले सीमित पुँजीपति वर्गलाई लाभ पुगेको अभिव्यक्ति दिएका थिए । ‘आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, पुँजीमै हुन्छ । यो वित्तीय पुँजीवादको मुख्य विशेषता हो,’ उनले भनेका थिए, ‘हामीलाई लाग्न सक्छ, धितोपत्र बजार, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ, विश्व बैंक, एसियाली विकास बैंकलगायत संघसंस्था पैसा यताउता गर्छन् । यथार्थमा त्यसो होइन । यी साम्राज्यवादका विकसित रूप हुन् ।’

वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, विस्तार गर्ने, नाफा एकीकृत गर्ने र संसारका सीमित पुँजीपतिका हातमा संसारकै धन एकीकृत गर्ने तिनको उद्देश्य रहेको दाहालको भनाइ थियो । उनको अभिव्यक्तिबाट बजार प्रभावित भएको भनेर चौतर्फी विरोध भएपछि सोमबार माओवादी केन्द्रको सचिवालयले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष दाहालले आफूले सैद्धान्तिक रूपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याएका छन् । यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा नबनाउन पनि दाहालको सचिवालयले आग्रह गरेको छ । दाहालको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भन्दै विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आपत्तिजनक अभिव्यक्ति आउनु खेदपूर्ण भएको विवेकशीलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अर्थमन्त्री शर्माले सोमबार सेयर बजारमा चलखेल भएको उल्लेख गर्दै त्यसमा संलग्नहरूले मन्त्रीले सेयर घटाइदियो भनेर आरोप लगाएको बताएका छन् । ‘त्यस्ता मान्छेले चलखेल गरेर बजार घटाउँछन् र नाफा कमाउँछन् ।

अनि दोष जति अर्थमन्त्रीलाई दिन्छन्,’ उनले भने, ‘यस्ता गतिविधि फैलाउन केही समूह नै लागेका छन् । वास्तविक लगानीकर्ताले यस्ता विषयमा सचेत भई संयमित रूपमा लगानीसम्बन्धी निर्णय गर्नुहोला ।’ सेयर बजारमा धेरै सुधार गर्न बाँकी रहेकाले अर्थ मन्त्रालय अहिले त्यही काममा लागेको उनले दाबी गरे ।

‘लगानीकर्ताको सम्पत्ति संरक्षणका लागि के कस्तो काम गर्नुपर्ने हो, त्यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘यहाँ धान खाने मुसो, चोट पाउने भ्यागुतो भएको छ ।’ यसअघि बाबुराम भट्टराईले आफू अर्थमन्त्री भएका बेला सेयर बजारलाई ‘जुवाको खाल’ को संज्ञा दिएका थिए । त्यही कारण माओवादी पार्टीलाई सेयर बजारविरोधीको आरोप लाग्दै आएको छ । कान्तिपुर दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.