DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विपन्‍नले कसरी बाँच्‍ने ?


  • कार्तिक १८, २०७७
  • 471 Views
विपन्‍नले कसरी बाँच्‍ने ? image

काठमाडौँ । अभियन्ता बद्रीप्रसाद ढुंगाना स्वयंसेवकका साथ हरेक दिन दिउँसो २ बजे खुलामञ्च पुग्छन् । त्यहाँ भेला भएका झन्डै २ सय जनालाई निःशुल्क खाना वितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् । तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्‍यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनले बताए ।

‘मेयर सा’बको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो । तर हामी रोक्दैनौं,’ उनले भने । ढुंगानाले नेतृत्व गरिरहेको निःशुल्क खाना वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, मानवी क्रिएटिभ एसोसिएसन र सेभ एसोसिएसन नेपालले सहकार्य गरेका छन् । उनीहरूले खुलामञ्चमा खाना खुवाउन थालेको सोमबार ३७ दिन पुगेको छ । प्लेटमा दाल, भात, तरकारी र अचार खुवाउने गर्छन् । खाना खुवाउने ठाउँमा फोहोर नगरेको उनको दाबी छ । ‘हामी सकेसम्म सफा गर्छौं, तैपनि हामीले खुवाउँदा फोहोर भएको छ भने अझ सफा गर्न तयार छौं तर खाना बाँड्नै बन्द गर भन्नुचाहिँ आपत्तिजनक हो,’ ढुंगानाले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । लकडाउन खुलेपछि खुलामञ्चलगायत ठाउँमा मान्छेको आवतजावत बढेको, सवारीसाधन चल्न थालेको र बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्ता ठाउँमा खाना वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ । ‘खाना खाएर हात धुने ठाउँ छैन, शौचालय छैन, यत्रतत्र फोहोर गरेको छ, अरू मान्छेलाई हिँडडुलमा समस्या भएको छ । यो त ठीक भएन नि,’ उनी भन्छन्, ‘यस्तो अव्यवस्थित काम रोक्न नागरिकबाट व्यापक गुनासो आएको छ । हामीले नागरिककै आवाज सुनेका हौं ।’

लकडाउनका बेला सुनसान भएकाले खुलामञ्चलगायत खुलाक्षेत्र खाना खुवाउन ठिकै भए पनि अहिले उपयुक्त नभएको उनले बताए । कोरोना त्रास बढेसँगै गत चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो । दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेकाहरूलाई लकडाउनले आहत बनायो । बिहान–बेलुका छाक टार्नै धौधौ भएर छटपटिएकालाई राजधानीका खुलामञ्च, कालीमाटी, पशुपतिलगायत ठाउँमा मनकारीहरूले निःशुल्क खाना खुवाउन सुरु गरेका थिए, जुन अधिकांश क्षेत्रमा अझैं निरन्तर छ ।

चैत १४ गतेबाट हन्ड्रेड ग्रुपले यो पुण्यकर्म थालनी गरेको थियो । यसका संस्थापक बब्लु गुप्ताका अनुसार अहिले पनि पशुपति र खुलामञ्चमा दैनिक ४ सय जनालाई निःशुल्क खाना खुवाइन्छ । यसमा ‘हाम्रो सानो प्रयास’ लगायत अन्य अभियानले सहकार्य गरेका छन् । गुप्ताले पनि महानगरको निर्णयको विरोध गरे । ‘हामी दैनिक खुलामञ्च र पशुपतिमा खाना खुवाउँछौं, अहिलेसम्म महानगरपालिकाले रोकेको छैन,’ गुप्ताले भने, ‘तर, कतिपय साथीहरूलाई रोकेको र महानगरपालिकाले रोक्ने निर्णय गरेको भन्ने सुनें । हामी यसको प्रतिवाद गर्छौं ।’ कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.