भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डिस्प्याचरसहितलाई कारबाही


  • चैत्र ८, २०७९
  • 262 Views
डिस्प्याचरसहितलाई कारबाही image

काठमाडौँ । ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले जहाजमा चढेका यात्रु र लोडसिट पेपरमा केही फरक देखे । पाइलटलाई ताप्लेजुङमा बुझाइएको लोडसिटमा १० महिला र ५ पुरुष लेखिएको थियो । तर, ४५ मिनेटको उडानपछि काठमाडौं आइपुग्दा चालकदलले जहाजमा ९ महिला र ६ पुरुष देखे ।

चालकदललाई तौलमा शंका लागेपछि उनीहरूले काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलमा रहेका निगमका कर्मचारीलाई जहाजको अगाडि र पछाडिको भागमा रहेको कार्गो कम्पार्टेन्टमा राखिएका यात्रुहरूको सामानको पनि पुनः तौल लिन भने । स्रोतका अनुसार काठमाडौंमा गरिएको तौल जाँचमा लोडसिट पेपरमा लेखिएको भन्दा कम्तीमा १८ किलोग्राम फरक पाइयो ।

यस घटनाबारे निगमले नियमनकारी निकायलाई जानकारी गराउनुपर्ने थियो । तर, गुपचुप राखियो । ‘कुनै सूत्रबाट उडानमा लेखिएको भन्दा बढी र पुरुषलाई महिला बनाइएको घटनाको उजुरी मंगलबार आयो,’ प्राधिकरणका एक विभागीय प्रमुखले भने, ‘त्यही सूचनाका आधारमा ७ जनालाई अर्को निर्णय नहुन्जेल ग्राउन्डेड (कारबाही) गर्ने निर्णय भएको छ ।’

प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्याडर्ड विभागले उक्त उडानका चालकदल, परिचारिका, ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख, काठमाडौं विमानस्थलस्थित आन्तरिक उडानमा कार्यरत फ्लाइट डिस्प्याचरसहित ७ जनालाई ग्राउन्डेड गर्ने निर्णय भएको हो । ‘निगमको

ट्वीनअटरले लोडसिटमा भन्दा ४८ किलोग्राम अतिरिक्त भार बोकेको र एक पुरुष यात्रुलाई महिला बनाई उडाएको विषयमा कारबाही गरिएको छ,’ प्रवक्ता जगन्नाथ निरौलाले भने ।

प्राधिकरणले यस घटनामा गम्भीर कानुनी दफा आकर्षित हुने भनेको छ । ‘जहाजमा सामान र यात्रुको तौल फरक पार्नु आर्थिक हिनामिना हुँदै हो,’ यसमा अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘त्यसबाहेक जहाजको भारवहन क्षमताभन्दा बढी लोड हुनु दुर्घटनाको जोखिम भएकाले यसमा अरू कानुन पनि आकर्षित हुन्छन् ।’ ती अधिकारीका अनुसार, यस घटनाको छानबिन गर्न निगमलाई प्राधिकरणले निर्देशन दिएको छ भने ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख लोकेन्द्र लिम्बूलाई बुधबार काठमाडौं झिकाएको छ । ताप्लेजुङमा रहेको निगमको कार्यालयले लास्ट मिनेट चेन्ज (एलएमसी) अन्तिम समयमा एक जना यात्रुलाई समेट्दा पुरुषको महिला हुन गएको भनेको छ । नेपालको दुर्गम उडानमा जहाजहरूले पुरुषको औसत तौल ७५ र महिलाको तौल ६५ किलोग्राम मानेको छ । यसैका आधारमा वायुसेवा कम्पनीले जहाजको कार्गो थपघट गर्न पाउँछन् ।

पछिल्लो पटक प्राधिकरणले उडान सुरक्षा असर पर्न नदिने भन्दै कडाइ गर्दा निगमका मात्रै ४ पाइलट, ७ क्याबिन क्रु, २ प्राविधिक, १ डिस्प्याचरसहित १४ जना कारबाहीमा परिसकेका छन् । जहाज पार्किङस्थलमा परिचयपत्र र सुरक्षा पोसाक नलगाएकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही दिनअघि निगमकै कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग लिखित स्पष्टीकरण नै मागेपछि उनले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै माफी नै मागेका थिए ।

कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.