भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पानी परेन, सिँचाइ छैन, धान खेतमा धाँजै–धाँजा


  • श्रावण ३, २०७९
  • 478 Views
पानी परेन, सिँचाइ छैन, धान खेतमा धाँजै–धाँजा image

काठमाडाैं । धान खेती गर्ने मुख्य महिना असार हो। यो महिनाभित्रै रोपेको धानले राम्रो उत्पादन दिने कृषि विज्ञ बताउँछन्। तर, यस वर्ष खेतीको मुख्य सिजन अर्थात् असार महिनामा मुलुकभर ६० प्रतिशत मात्रै धान खेती भएको छ। अघिल्लो वर्ष यसै समयमा ७६ प्रतिशत रोपाइँ भएको थियो।

समयमा पानी नपर्दा असारमा रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल बताउँछन्। भन्छन्, ‘खडेरीका कारण खेती योग्य जमिन पनि असारमा बाँझै छ। प्रत्येक वर्ष पानी कै कारण रोपाइँ गर्ने स्थान खुम्चँदै गएको छ।’

साउन लागे पनि वर्षा नहुँदा तराईका खेतमा धाँजा फाट्न थालेको छ। जसोतसो धान रोपिए पनि खडेरीले रोपो पहेंलिएका छन्। पर्याप्त सिँचाइको व्यवस्था नहुँदा अधिकांश जिल्लामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ। केही स्थानमा ट्युवबेल पनि सुकेका छन्। मनसुन सक्रिया नहुँदा उत्पादन घट्नेमा किसान चिन्तित छन्। झमझम वर्षा हुने समयमा चर्को घाम र तापक्रम ४० देखि ४२ डिग्रीसम्म पुगेको छ।

‘जसोतसो रोपाइँ गर्‍यौं तर खडेरीले धेरै समस्या भएको छ’, रोहिणी गाउँपालिका रूपन्देहीका रामवृक्ष यादवले भने, ‘सिँचाइका लागि रहेको एउटा सानो ट्युवबेल छ, त्यो पनि पनि सुकेको छ। अब आकाश हेरेर बस्नु बाहेक हामीसँग कुनै विकल्प छैन।’

असार लागेदेखि यस क्षेत्रमा एक/दुई पटक मात्र सामान्य वर्षा भएको छ। लामो प्रतीक्षापछि पनि मनसुन सक्रिय नहुँदा र भूमिगत पानी पनि सुक्दा रूपन्देहीका कृषक चिन्तित छन्। विगतका वर्षमा यो क्षेत्रमा असार १५ अघि नै रोपाइँ सकिन्थ्यो। यस वर्ष असार अन्तिममा मात्रै लगभग रोपाइँ सकिएको छ।

किसानलाई रोपाइँ गर्न पानीले मात्रै होइन रासायनिक मलले पनि रोकेको छ। ‘हामी किसानलाई प्रकृतिले मात्रै ठगेको छैन। राज्यबाट पनि ठगिँदै आएका छौं’, गैडहवा गाउँपालिका–३ रूपन्देहीका किसान राजेश यादवले भने, ‘जसोतसो रोपाइँ गर्‍यौँ, यसै समय आवश्यक पर्ने मल पनि पाइएको छैन।’ धान रोपाइँपश्चात् आवश्यक डीएपी, युरियालगायतका मलको अझै चरम अभाव छ।

पश्चिम तराईमा खडेरी
पश्चिम तराईका किसानलाई पनि यस वर्ष खडेरीले सताएको छ। वर्षा नहुँदा रोपेको धान सुक्न थालेको छ। जमिन फाट्न थालेको छ। असार महिनाभरि खासै पानी नपरेपछि असारको मध्यबाट किसानले रोपाइँ सुरु गरेका थिए। बोरिङको सहयोगले रोपाइँ गरेको भए पनि वर्षा नहुँदा जमिनमा चिरा पर्ने, रोपिएको धान पहेंलो भएर सुक्ने गरेको छ। टीकापुर नगरपालिका–२ कैलालीका किसान गौमती विश्वकर्माले मोटर लगाएर रोपिएको धान वर्षा नहुँदा सुक्न थालेको बताए। भनिन्, ‘साउन लागिसक्यो पानी पर्दैन। रोपेको धान पहेंलो भइसकेको छ। खेतमा पनि पूरै चिरा परेको छ।’

यस क्षेत्रमा वर्षा भए असारमै रोपाइँ सकिन्थ्यो। गत वर्ष यही समयमा रोपाइँ गरेर सकेको स्थानीय सुरेन्द्र कठरिया बताउँछन्। ‘पानी परेको छैन, हामीलाई रोपेको धान पनि सुक्न लागेपछि उत्पादन नै कम हुन्छ कि भन्ने पीर परेको छ’, उनले भने, ‘धान मात्रै नभएर वर्षे मकै, तिल र मासलगायतका बालीको उत्पादनमा कमी आउँछ।’

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले कैलालीमा अघिल्लो वर्षभन्दा यस वर्ष ढिला रोपाइँ सकिएको बताए। बर्सेनि विभिन्न निकायबाट पम्पसेट, बोरिङहरू वितरण भइरहेका कारण कैलालीमा रोपाइँ असार अन्तिमतिर सकिएको तर, निरन्तर पानी नपर्दा समस्या भएको उनी बताउँछन्। शर्माका अनुसार यस वर्ष कैलालीमा ६९ हजार ५ सय हेक्टर जमिनका धान खेती गरिएको छ। ‘समयमा वर्षा नहुँदा खेतमा चिरा परेको छ। हलक्कै बढ्नुपर्ने धान पानी नपर्दा बढ्न सकेको छैन,’ शर्माले भने, ‘यसले उत्पादनमा असर त परिहाल्छ नि !’

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.