भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाबुआमा भएकै बालबालिका बालगृहमा


  • चैत्र १८, २०७७
  • 656 Views
बाबुआमा भएकै बालबालिका बालगृहमा image

काठमाडौँ । बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिकालाई मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था गरिए पनि झन्डै ७७ प्रतिशत बालबालिका आमाबाबु भएका बस्ने गरेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “आमाबाबु भएर पनि बालगृहमा बस्ने बालबालिकामध्ये एकथरी गरिब परिवारका छन् भने अर्काथरी दुर्गम ठाउँका आमाबाबुले छोराछोरी सहरमा राम्रो विद्यालय पठाउने प्रलोभन भएको पाइन्छ ।”
पछिल्ला केही वर्षदेखि परिषद्ले अति आवश्यक भएका बालबालिकाले मात्र बालगृह बस्नुपर्छ भनेर कतिपय त्यस्ता बालबालिकाको पहिचान गरेर परिवारमै पुनस्र्थापना गराउने काम गर्दै आएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । उहाँले कोरोना महामारीमा मात्रै झन्डै चार हजार बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने काम परिषद्बाट भएको जानकारी दिनुभयो । परिषद्का अनुसार हाल देशका ४५ जिल्लामा सञ्चालन गरिएका ४८९ वटा बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेका छन् ।

यहाँ छ हजार १५६ बालिका र पाँच हजार १९४ बालक छन् । यी बालबालिकामध्ये पनि ७८ प्रतिशत बालबालिका बाबुआमा भएको बताइएको छ । परिषद्का सूचना अधिकारी चन्दले सबै बालगृहको अध्ययन नभए पनि परिषद्ले बर्सेनि गरेका अनुगमनबाट २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको पाइएको बताउनुभयो ।
बुबाआमा भएका बालबालिका पनि बालगृहमा रहेको स्वीकार गर्दै केन्द्रीय बालकल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले भन्नुभयो, “गरिबीका कारण र राम्रो शिक्षाको प्रलोभनमा बालबालिकालाई बाबुआमाबाट छुट्याएर बालगृह राख्नु कानुनविपरीतको काम हो । ”

उहाँका अनुसार मापदण्डमा आमाबाबु नभएको वा भएर पनि शारीरिक वा मानसिक अवस्थाका कारण पालनपोषण गर्ने अवस्थामा नरहेका र परिवारको सदस्य, संयुक्त परिवार र नजिकका नातेदार वा अरू कुनै परिवारमा राखेर पालनपोषण गर्न नसकिने अवस्था रहेका बालबालिकालाई बालगृहमा राख्न पाइन्छ । बालअधिकारकर्मीसमेत रहनुभएका धितालले भन्नुभयो, “बालगृह बालबालिकालाई आवश्यक भएर सञ्चालन गरिनुपर्ने तर यहाँ त बालगृहलाई बालबालिकाको आवश्यकता बढी देखिन्छ । ”

पछिल्लो पटक राष्ट्रिय बालअधिकार परिषद्ले बालगृहको अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा उपत्यकामा एक सय बालगृहको अनुगमन गरी छवटाले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ ।

न्यूनतम मापदण्ड पालना नगरेका छवटा बालगृहमध्ये तीनवटा बालगृहबाट बालबालिका उद्धार गरी बन्द गरिसकेको र तीनवटा बन्द गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । चन्दले भन्नुभयो, “बन्द गरेका तीन बालगृहमा जोखिम अवस्थामा रहेका २१ बालक र २० बालिका गरी ४१ बालबालिकालाई उद्धार गरिएको छ, उनीहरूमध्ये अधिकांशलाई परिवारमै पुनर्मिलन गराइएको छ भने सानो सङ्ख्याका बालबालिकालाई सरकारको समन्वयमा सञ्चालित अस्थायी बालगृह ‘ट्रान्जिटहोम’ मा राखिएको छ । ”

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.