काठमाडौं, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने आजको दिनलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले आजदेखि रातभन्दा दिन लामो हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, साधना र दानलाई पुण्यदायक मानिने भएकाले देशभर धार्मिक गतिविधि बढेको छ।
यस अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। यी स्थानमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर नुहाउने अनुकूल वातावरण नपाए पनि आज अनिवार्य रूपमा स्नान गर्नुपर्ने मान्यता छ।
धार्मिक विश्वासअनुसार बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धुमा माघ १ गते घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।
उत्तरायणपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत र ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। चिसो मौसममा यी तातो परिकारले शरीरलाई न्यानो दिने भएकाले यस्तो प्रचलन विकसित भएको हो। आयुर्वेद चिकित्सकका अनुसार यस्ता खानाले त्रिदोष नाश हुने विश्वास गरिन्छ।
पुसको अन्तिम दिन तरुल पकाएर राखी माघमा खाने परम्परा पनि विभिन्न स्थानमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ। आज तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ र स्वस्थ रहने आयुर्वेदिक मान्यता छ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई पनि उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु शय्यामा रहेका भीष्मले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको प्रसंग धर्मग्रन्थहरूमा उल्लेख गरिएको छ। आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि विशेष मेला लाग्ने गर्दछ।
माघ महिनामा ‘माघमाहात्म्य’को ठूलो महत्व रहन्छ। स्कन्द पुराणको माघमाहात्म्यअन्तर्गत केदारखण्डमा कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी कथा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म सुनिने–सुनाइने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ।
व्रत गर्नेहरूले चान्द्रमासअनुसार माघभर स्नान गरी मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्ने भएकाले यसलाई ‘माघ स्नान’ पनि भनिन्छ। यसैबीच, माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने भएको छ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई ध्यानमा राखी गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

