भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, १६ असार । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भन्दै विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो।

विभागका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, देशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन थप सक्रिय बनेको मौसमविद्को भनाइ छ।

विभागले भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबान, साथै ठूला तथा साना नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

मौसमको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनारका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी प्रणाली अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशतर्फ बढी सक्रिय देखिएको छ। उनका अनुसार पश्चिम चुरे तथा तराई क्षेत्रमा चट्याङको गतिविधि बढी देखिएको छ।

उप्रेतीले कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा भएको जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रदेखि सुदूरपश्चिमसम्म आज राति र भोलि बिहानपख बढी वर्षा हुने सम्भावना रहेको उनले उल्लेख गरेका छन्। यद्यपि, मध्य मधेस क्षेत्रमा आगामी दुई दिन अत्यधिक वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.