भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

वायुसेवा निगमको ६८ औँ वर्ष, आर्थिक रूपमा धराशायी, सेवा पनि खस्किँदै

वायुसेवा निगमको ६८ औँ वर्ष, आर्थिक रूपमा धराशायी, सेवा पनि खस्किँदै

काठमाडौँ,  १७ असार । नेपाल वायुसेवा निगम स्थापना भएको ६८ वर्ष पुगेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक समय दक्षिण एसियाको प्रतिष्ठित हवाई सेवा प्रदायकको रूपमा उचाइ हासिल गरे पनि अहिले भने सेवा र आर्थिक अवस्थाको दृष्टिले निकै कमजोर बनेको छ।

निगमले आफ्नो सुरुआत २८ सिट क्षमताको डोग्लस डीसी–३ डाकोटा विमानबाट गरेको थियो। त्यसयता कालक्रममा सानाठूला गरी २१ वटा विमान सम्म पुगेको निगमसँग हाल अन्तर्राष्ट्रिय सेवाका लागि २ थान वाइडबडी ए–३३० र २ थान न्यारोबडी ए–३२० सिरिजका जहाज मात्र बाँकी छन्। यी जहाजमार्फत निगमले ८ मुलुकका १० गन्तव्यसम्म सेवा दिइरहेको छ।

आन्तरिक उडानतर्फ व्यावसायिक सेवा नाजुक बनेको छ। व्यवसायिक प्रयोजनका लागि प्रयाप्त जहाज नहुँदा निगमले हाल १९ सिट क्षमताका २ वटा साना जहाजमार्फत दुर्गम क्षेत्रका केही विमानस्थलहरूमा मात्र सेवा दिइरहेको छ।

हवाई बजारमा निगमको हिस्साले पनि गिरावट व्यहोरेको छ। हाल आन्तरिकतर्फ बजार हिस्सा जम्मा ३ प्रतिशतमा सिमित छ भने अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत हाराहारीमा मात्र छ। नेपालको हवाई इतिहासमा सन् १९९० को दशक निगमको स्वर्ण युगका रूपमा चिनिन्छ। त्यसबेला निगमका विमानहरू जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपका लन्डन, पेरिस, फ्र्याङ्कफर्टसम्म पुग्ने गर्थे। निगमसँग त्यसबेला आफ्नै प्रशस्त स्वदेशी पाइलट र इञ्जिनियरहरू थिए। अन्तर्राष्ट्रियस्तरमा यो एक गौरवपूर्ण राष्ट्रिय कम्पनीको रूपमा चिनिन्थ्यो।

हाल भने अवस्था त्यस्तो छैन। व्यवस्थापन असफलता, राजनीतिक हस्तक्षेप, अनियमितता र दूरदर्शी योजना अभावका कारण निगम आर्थिक रूपमा गहिरो संकटमा पुगेको छ। निगमको सेवा गुणस्तरमा निरन्तर गिरावट आउँदा ग्राहक विश्वास पनि घटेको देखिन्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, “वर्तमान अवस्थामा निगम आर्थिक रूपमा कमजोर भए पनि नेपालको हवाई इतिहासको जग बसाल्ने महत्वपूर्ण संस्थाका रूपमा यसको भूमिका महत्वपूर्ण छ।”

६८ वर्षको लामो यात्रामा निगमले उचाइका साथै गम्भीर पतन पनि भोगेको छ। अब यसको पुनरुत्थानका लागि व्यापक सुधार र राजनीतिक इच्छाशक्ति आवश्यक देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.