काठमाण्डौ । विदेश जानको लागि बुधबारदेखि नयाँ नियम लागू भएको छ । भिजिट तथा पर्यटक भिसामा विदेश जान अध्यागमन विभागका अनुसार नयाँ नियम लागू भएको हो । विभागका अनुसार खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुई पटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी देशमा बसेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाउनेछन् ।
नयाँ नियम अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने देश भए प्रवेशाज्ञा चाहिने र भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने विभागले जनाएको छ ।
न्यूनतम माध्यमिक तहको औपचारिक शिक्षा वा त्यो सरहको प्राविधिक र व्यावसायिक सीप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य देशमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति पनि जान पाउनेछन् ।
वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय भइ कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू, नेपाली दूतावासको सिफारिसबमोजिम बिरामी कुरुवा वा रेखदेखको काम गर्न जाने तीन पुस्ताभित्रका पारिवारिक सदस्यहरू पनि भिजिट भिसा जान पाउनेछन् ।
आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति ९एकाघरका आमाबाबु, सासूससुरा, छोराछोरी, श्रीमान–श्रीमती र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदारसमेत०, गन्तव्य देशमा रहेको राजदूतावास र नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरूलगायत पनि भिजिट भिसामा जान पाउने छन् ।
