सोलुखुम्बु । सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९,०८० को तुलनामा चालु आव २०८०र ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईले बताए । हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताउनुभयो ।
यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्तला खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले बताए । उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
देउसालाई जिल्लाको सुन्तला भण्डारकै रूपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँ बजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी राईको भनाइ छ । जिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक दुई हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ ।
