काठमाडौँ, माघ ६ । प्रतिनिधिसभा अन्तर्गत आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ । सबै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता हुन लागेको हो ।
प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् । केही विवादित क्षेत्रका उम्मेदवार आज बिहानसम्म टुंग्याउने कांग्रेसलगायत दलहरूको तयारी छ । शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने टिकट पाएका अधिकांश उम्मेदवार पनि आफ्नो क्षेत्रमा सक्रिय भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगिसक्नुभएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक उम्मेदवार नबन्ने जनाइएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मनोनयन दर्ता गर्न झापा पुग्नुभएको छ भने सभापति रवि लामिछाने चितवन पुग्ने क्रममा हुनुहुन्छ । निर्वाचन कार्यालयहरूले दल र उम्मेदवारका लागि मनोनयन दर्ताको समयसमेत तोकिसकेका छन् ।
मनोनयन दर्ताका क्रममा कुनै पनि तडकभडक नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आचारसंहिता लागू भइसकेको र यसको कडाइका साथ पालना गर्न आयोगले सबैलाई सूचित गरेको छ । मनोनयन दर्ताको समय आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । भोलि दिउँसो ३ बजेदेखि पर्सि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी आयोगले निर्णयसहित उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको छ ।
शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने दिउँसो ४ देखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने तालिका छ । आउँदो फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

