काठमाडौँ, माघ ६ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ता आज देशभर हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।
आयोगका अनुसार उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्नेछ । उम्मेदवारले वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर बुझाउनुपर्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
आयोगले यसअघि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट १ सय १० जना र प्रत्यक्ष प्रणालीबाट १ सय ६५ जना निर्वाचित हुने व्यवस्था छ ।
यसैबीच आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि उम्मेदवारी दर्ताको समयसमेत तोकेको छ ।
भीडभाड कम गराउने र उम्मेदवारी दर्ता प्रक्रिया सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ । चुनाव सुरक्षाका लागि प्रहरी छनोटको प्रक्रिया शुरु भइसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलहरूले पनि आज बिहानसम्म उम्मेदवार टुंग्याउने बताएका छन् ।

