भर्खरै : Sorry, your browser does not support inline SVG.

हमास वार्ता टोली लक्षित : इजरायलको दोहा आक्रमणमा ५ को मृत्यु

हमास वार्ता टोली लक्षित : इजरायलको दोहा आक्रमणमा ५ को मृत्यु

दोहा, २५ भाद्र। कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन्। तर, हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास असफल भएको दाबी गरेको छ।

हमासका अनुसार अमेरिकी प्रस्तावमा आधारित गाजामा युद्धविरामबारे छलफल चलिरहेको बेला दोहाको एक आवासीय कम्पाउन्डमा आक्रमण भएको हो। विस्फोटका कारण भवन क्षतिग्रस्त भएको जनाइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो आक्रमणलाई ‘पूर्णतया न्यायोचित’ भन्दै यसले २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमण आयोजना गर्ने हमास नेताहरूलाई लक्षित गरेको बताए।

कतारले भने आक्रमणलाई ‘कायरतापूर्ण’ र ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भन्दै कडा निन्दा गरेको छ। कतारी गृह मन्त्रालयका अनुसार एक सुरक्षा अधिकारी मारिएका छन् र केही घाइते भएका छन्। तर, हमास सदस्यबारे भने औपचारिक रूपमा केही उल्लेख गरिएको छैन।

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भने पनि हमासको अन्त्यलाई ‘उचित लक्ष्य’ भनेका छन्। कतार अमेरिकाको प्रमुख सहयोगी देश हो, जहाँ ठूलो अमेरिकी हवाई अड्डा अवस्थित छ।

सन् २०१२ देखि कतारले हमासको राजनीतिक ब्यूरोलाई आश्रय दिँदै आएको छ र इजरायल–हमासबीचका अप्रत्यक्ष वार्तामा मध्यस्थता गर्दै आएको छ। दोहामा बस्ने स्थानीयवासीका अनुसार मंगलबार दिउँसो करिब आठवटा विस्फोटको आवाज आएको र सहरको उत्तरी कतारा क्षेत्रमा धुवाँ उडेको देखिएको थियो। कतारी अधिकारीहरूले आक्रमण हमास राजनीतिक ब्युरोका सदस्यहरू बस्ने आवासीय भवनमा भएको पुष्टि गरेका छन्।

इजरायलले तत्कालै आक्रमणको जिम्मा लिँदै यो ‘वरिष्ठ नेताहरूलाई लक्षित गरिएको सटीक प्रहार’ भएको दाबी गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार आक्रमणमा १५ वटा लडाकु विमान परिचालन गरिएको थियो र १० वटा बम एउटै लक्ष्यमा केही सेकेन्डभित्र खसालिएको थियो।

लक्षित व्यक्तिहरूमध्ये हमासका प्रमुख वार्ताकार तथा निर्वासित गाजा नेता खालिल अल–हैय्या र पश्चिम तटका निर्वासित नेता जाहेर जबारिन रहेको प्रारम्भिक जानकारी इजरायली अधिकारीहरूले दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.